गढवा गाउँपालिका– १ वडहरा निवासी भीमबहादुर विश्वकर्मा आफूले बनाएको बाघ, गैंडा, जरायोको प्रतिमासँग पार्कमा आउने पर्यटक रमाएको देख्दा प्रफुल्लित हुन्छन्। गढवा गाउँपालिका–१ वडहरास्थित कुलपानी हरित पार्क भीमबहादुरले बनाएका विभिन्न कलाकृतिले सजिएको छ।
दुई वर्षअघि पहिलो लकडाउनको क्रममा हरित पार्कको योजना बन्यो। खालि समयमा भीमबहादुरले पार्क क्षेत्रमा विभिन्न जनावरको प्रतिमा बनाउन थाले। अहिले तिनै प्रतिमाले पर्यटकलाई आकर्षित गरेको छ। ‘यिनै हातले बनाएका प्रतिमा हुन्। मानिसले मन पराएर फोटो, भिडियो खिचेर रमाएको देख्दा मन प्रशन्न हुन्छ’, उनले भने, ‘अहिले कलाकृति बनाएर घर खर्च चलेको छ।’
हरित पार्क अहिले पर्यटन क्षेत्र बन्दैछ। यसको चर्चा बढिरहेको छ। पार्कलाई चर्चित बनाउने पर्दाभित्रका पात्रमध्ये भीमबहादुर एक हुन्। दश वर्षको उमेरदेखि माटोसँग खेल्न थालेका थिए उनले। उनको हात माटोलाई विभिन्न आकृति दिन सक्रिय छन्। स्कुल पढ्दा सरस्वतीको मूर्ति बनाए। त्यसपछि उनको परिचय मूर्तिकारको रुपमा अघि बढ्यो। आँखाले देखेको चित्रलाई हुबहु हातले आकृति बनाउन सक्ने कला उनको हातमा स¥यो। विगत तीन वर्षदेखि भीमबहादुरले मूर्ति बनाउने कामलाई व्यावसायिक बनाउँदै निरन्तरता दिएका छन्।
पार्क क्षेत्रमा दैनिक पाँच सयदेखि सात सयसम्म पर्यटक आउने गरेका छन्। भविष्यमा दैनिक २ हजारदेखि ३ हजारसम्म पर्यटन भित्र्याउने लक्ष्य रहेको कुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्माले जानकारी दिए। कुलपानी सामुदायिक वनले पर्या–पर्यटन तथा जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले हरित पार्क तयार पारेको हो।