नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा चलिरहेको जिल्ला अधिवेशन हठात् सरेको छ । सोमबार मनोनयन दर्ता गर्ने गरी आइतबार मनोनयन पत्र वितरण गरिसकिएपछि एक्कासी जिल्ला अधिवेशन स्थगित गरिएको हो ।
‘जिल्ला निर्वाचन परिचालन समितिका संयोजकले केन्द्रीय महाधिवेशन पछि मात्रै जिल्ला अधिवेशन हुन सक्ने सम्भावना सहितको जानकारी गराउनु भएको छ’, जिल्ला पार्टी सभापति किरण कोइरालाले आफु स्तब्ध भएको प्रतिक्रिया दिंदै भनिन्, ‘यो कुरा कन्फर्म गर्न केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसँग पनि कुरा गरें, अधिवेशन रोक्ने निर्णय भएको रहेछ ।’
निर्वाचन परिचालन समितिका अनुसार, प्रदेश महाधिवेशन र संघीय महाधिवेशनका लागि प्रतिनिधि चुनिइसकेकाले जिल्ला अधिवेशन सार्ने निर्णय आएको हो । ‘प्रदेश अधिवेशन मंसिर १६ गते गरिसक्नु पर्ने भएकाले तयारी अपर्याप्त हुने देखिएपछि जिल्ला अधिवेशन सार्नु परेको हो’, निर्वाचन परिचालन समिति स्रोतको भनाइ छ ।
यसैबीच, आइतबार सुरु भएको निर्वाचन प्रक्रियाका क्रममा नेतृत्वका लागि संस्थापन इतरबाट नारायण गौडेलले मनोनयन पत्र बुझेका छन् । ‘हाम्रो तर्फबाट सर्वसम्मत टिम तयार भैसकेको छ,’ पार्टी सभापति समेत रहेकी काँग्रेस नेतृ किरण कोइरालाले भनिन् ।
संस्थापन पक्षबाट भने नेतृत्वमा किचलो देखिएको छ । प्रदेश बनमन्त्री सुरेन्द्र हमाल, राजकुमार बर्मा, लक्ष्मीनारायण शाह, निरञ्जन सिंह सिजापति र बादशाह कुर्मीले टिम बनाउने कसरत सहित मनोनयन पत्र बुझेका छन् । ‘कुर्मीले हामीसँग कुनै सल्लाह नै नगरी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्’, शाह र बर्माले सबैभन्दा पहिले उम्मेदवारी घोषणा गर्ने कुर्मीबारे दैनिक नेपालगन्जको जिज्ञासामा भने, ‘हामी सबै दाबेदार बीच छलफल गरेर एउटा निर्णयमा पुग्नेछौं ।’