नेपाली कांग्रेसको प्रदेश र केन्द्रीय महाधिवेशनको तालिका फेरबदल भएको छ । महाधिवेशन उद्घाटन हुने मिति यथावत राखेर उम्मेदवारी मनोनयनको तालिका फेर्ने निर्णय शिर्ष नेताहरुले गरेका हुन् ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले सोमबार मनोनयन तालिका परिमार्जन गर्न सहमती गरेका हुन् । परिवर्तित तालिकाअनुसार प्रदेश अधिवेशनमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन अब १७ गतेका लागि सारिएको छ । यस्तै, केन्द्रीय महाधिवेशनमा मंसिर २१ गते हुने भनिएको उम्मेदवारी मनोनयन दर्ता मंसिर २५ गतेका लागि सारिएको छ ।
महाधिवेशन उद्घाटनको मिति भने नसारिएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । ‘महाधिवेशनको तालिका परिवर्तन भएको छैन, यसलाई महाधिवेशन सारिएको भन्न मिल्दैन, प्रविधिक रूपमा मिलाउनका लागि १५ गतेलाई १७ गते मनोनयन दर्ता हुने व्यवस्था मिलाउन मात्र लागिएको हो,’ उनले भने ।