बर्दिया कांग्रेसमा देउवा पक्षको प्यानल निर्वाचित

पिपलबाेट संवाददाता


नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुण प्रकाशसिंह राठौंर निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी भुवनेश्वर चौधरीलाई पराजित गर्दै राठौर निर्वाचित भएका हुन् । राठौंर संस्थापन(देउवा) र चौधरी संस्थापन इतर(कोइराला पौडेल) पक्षका हुन् । राठौंरले ८७० र चौधरीले ६७८ मत ल्याए ।

सभापतिसहित पुरै संस्थापन पक्षको प्यानल निर्वाचित भएको छ । उप-सभापतिमा निर्वाचित भएका गोविन्दप्रसाद थारुले ८६० र सोदे विष्टले ८५९ मत ल्याए । निकटतम प्रतिद्धन्द्धी तिलकबहादुर बुढाक्षेत्रीले ६१४ र सुभाषकुमार पोखरेलले ६ सय मत प्राप्त गरे । सचिवमा निर्वाचित भएका ८४७ र जग्गाप्रसाद पाण्डेले ८२९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी दिपकराज तिमिल्सेनाले ६६३ र सुधांशुप्रकाश शर्मा(लालु)ले ६५३ मत ल्याए ।

सह-सचिवमा निर्वाचित भएका तिलकराम लम्सालले ९५३ र मेकबहादुर गुरुङले ८९२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी बिनोद राय यादवले ५७३ र युगपति पौडेलले ५७० मत ल्याए । सभापति र पदाधिकारीसहित सदस्य पदमा पनि राठौंर प्यानलकै निर्वाचित भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि सहमती हुन नसकेपछि मतदान गराइएको थियो । बर्दिया नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोरसिंह राठौंर, पुर्वमन्त्री सञ्जय गौतम र पार्टीका केन्द्रिय सदस्य गोपाल दहितको गृह जिल्ला हो । बर्दियामा भएको उक्त निर्वाचनलाई नेपाली कांग्रेसका केन्द्रिय नेताले समेत निकै चासोका साथ हेरेका थिए ।

१४ मंसिर २०७८ मा प्रकाशित
Nabintech