कांग्रेस प्रदेश समितिको नेतृत्वमा पुग्न चाहन्छन् यी नेता, कसले मार्ला बाजी ?

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसको प्रदेश महाधिवेशन सुरु हुन अब दुई दिन मात्रै बाँकी छ । तर, अहिलेसम्म कांग्रेसका कुनै पनि गुटले सभापति तथा पदाधिकारी उमेदवारको टुंगो लगाएका छैनन् ।

प्रदेश महाधिवेशन समन्वयका लागि सात नेतालाई जिम्मा दिइएको छ । प्रदेश–१ मा कृष्णप्रसाद सिटौला, प्रदेश–२ मा रमेश रिजाल, वाग्मती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुले प्रदेश अधिवेशन आयोजक समिति संयोजकको जिम्मा पाएका छन् ।

उनीहरुले प्रदेश महाधिवेशनको संयोजन गर्नेछन् भने महाधिवेशनको औपचारिक सभामा अध्यक्षतासमेत गर्नेछन् । तर, उनीहरुलाई दिइएको जिम्मेवारीअनुसार स्वाभाविक तालिकाअनुसार महाधिवेशनको प्रक्रिया अघि बढेको भए बुधबार प्रदेशमा सभापति, पदाधिकारी र सदस्यहरुले उमेदवारी दर्ता गर्नुपर्ने हुन्छ । तर, कांग्रेस महाधिवेशनको तालिकाको कार्यान्वयन हुन नसक्दा प्रदेश र संघीय महाधिवेशनमा निर्वाचन तालिका नै संशोधन भएको छ ।

सोमबार बसेको शीर्ष तीन नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलाको बैठकले प्रदेश र संघको महाधिवेशनको निर्वाचन तालिका फेर्ने प्रस्ताव गरेको हो । तीन नेताले संशोधन गरेको तालिकालाई केन्द्रीय निर्वाचन समितिले अनुमोदन गर्दै सार्वजनिक गरिसकेको छ ।

जसअनुसार प्रदेशमा १५ गते नै हुने भनिएको उमेदवारको  मनोनयन दर्ता १७ गते पुगेको छ भने २१ गते हुने भनिएको केन्द्रको उमेदवारको मनोनयन दर्ता २५ मंसिरमा पुर्‍याइएको छ ।

१७ गते हुने प्रदेशको निर्वाचन १८ गते पुगेपछि परिणाम घोषणा २१ गतेसम्म पुग्ने देखिएको छ । यस्तै २१ गते नै उमेदवारको मनोनयन दर्ता गरेर २५ गते मतदान र २६ देखि मतपरिणाम आउने गरी तालिका बनाए पनि अब मतदान नै २७ गते सुरु हुने देखिएको छ ।

प्रदेशमा सभापतिसहित पदाधिकारीको विषयमा गुटका नेताहरु टुंगोमा नपुग्दा उमेदवार चयन हुन सकेका छैनन् ।

आकांक्षीहरुमा पनि कुन कार्यसमितिमा प्रतिस्पर्धा गर्ने भन्ने अन्योल देखिन्छ ।

कांग्रेसको विधानअनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेशमा पनि भोट हाल्ने मात्र नभएर उमेदवारी दिने अधिकार पाउँछ । त्यसैले धेरैजसो आकांक्षीहरु केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेर कार्यकर्ताको सुझाव लिइरहेका छन् भने कतिपयले आ–आफ्नो गुटको नेताको मुख ताकिरहेका छन् ।

कुन प्रदेशमा कहाँ को छन् नेतृत्वका आकांक्षी ?   

केन्द्रमा जस्तै प्रदेशमा पनि नेताहरुका आ–आफ्ना गुट छन् । केन्द्रका नेताहरुमा आफ्नो गुटका आकांक्षीमध्ये कसलाई बनाउँदा बलियो दावेदारी प्रस्तुत हुन्छ, अनि कसलाई बनाउँदा आफ्नो टिममा विश्वास कायम हुन सक्छ भन्ने विषयको जोड घटाउ चलिरहेको छ । त्यसैले उनीहरु आफ्नै आकांक्षीहरुलाई जोखिरहेका छन् ।

प्रदेश नम्बर १ मा को को ? 

प्रदेश नम्बर १ मा संस्थापन पक्षबाट मोरङका पूर्वसभापतिसमेत रहेका केन्द्रीय सदस्य अमृत अर्याल प्रत्यासी छन् भने संस्थापनइतर पक्षबाट नेविसंघका पूर्वअध्यक्षसमेत भइसकेका केन्द्रीय सदस्य गुरुराज घिमिरे छन् ।

यो प्रदेशमा कृष्ण सिटौला समूह निर्णायक हुन सक्ने आकलन छ ।

सिटौलाले झापाका पूर्वभापति तथा पूर्वसांसद सुधीर सिवाकोटी, उद्धव थापाको व्यवस्थापन खोजिरहेका छन् । जिल्ला अधिवेशनमा जारी सहकार्यको निरन्तरता भए सिटौलाले प्रदेश १ को नेतृत्व नै पाउने हुँदा थापा सभापतिको उमेदवार बन्न सक्ने एक नेताले जानकारी दिए ।

यदि त्यस्तो अवस्था बनेमा थापाविरुद्ध संस्थापनइतरका घिमिरे चुनावी मैदानमा हुनेछन् । हैन भने त्रिपक्षीय भिडन्तपछि पहिलो हुने दुईजनाबीच प्रतिस्पर्धा हुने छ ।

सिटौलाले नेतृत्व नपाएमा सुधिर सिवाकोटी वा ओखलढुंगाका कुमार लुइटेललाई सिटौले महत्वपूर्ण पदाधिकारीमा लैजाने उनी निकटहरुको बुझाई छ ।

घिमिरेको ठाउँमा प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइराला पनि आकांक्षी छन् । शेखर कोइरालासँग निकट रहेका उनी सिटौलाको समेत विश्वास  लिएर जानसक्ने नेताका रुपमा पनि हेरिएका छन् ।

प्रदेश नम्बर २ मा को–को छन् आकांक्षी ? 

प्रदेश नम्बर २ मा संस्थापन पक्षका तीन आकांक्षी देखिएका छन् । सभापति देउवा पक्षका तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादव, बाराका नेता तथा सांसद अजय चौरासिया र रौतहट सभापति कृष्ण यादव प्रदेशको नेतृत्व गर्ने भन्दै सभापतिको दावीमा छन् ।

यहाँ पौडेल–कोइराला पक्षबाट केन्द्रीय सदस्य रामकृष्ण यादव र पर्साका सभापति अजय द्विवेदी प्रदेश सभापति पदका आकांक्षी छन् ।

यो प्रदेशमा विमलेन्द्र निधिको पनि पकड रहेकाले उनको मत निर्णायक हुनसक्ने विश्लेषण भइरहेको छ ।

हुन त अहिलेसम्म प्रदेश २ मा महाधिवेशन प्रतिनिधिको चयन भइसकेको छैन । तर, निधिको आधार क्षेत्रका रुपमा हेरिएकाले उनी त्यहाँको निर्णायक हुने आकलन संस्थापन र संस्थापनइतर दुवै पक्षमा भइरहेको छ ।

विमलेन्द्र निधिसँग निकट भएर धेरै तरुण दलको अध्यक्षसहितका पद पाइसकेका महेन्द्र यादव बालकृष्ण खाँणसँगै देउवाको निकट भएका छन् ।

निधिसँगै रहेका भए प्रदेश २ को सभापतिको उमेदवार उनी नै हुन सक्थे । तर, उनले साथ छोडेपछि निधिले भने रामसरोज यादवलाई प्रदेश सभापतिमा अघि सारेका छन् । प्रदेश २ मा कांग्रेस संसदीय दलका नेतासमेत रहेका यादव प्रदेश २ को सरकारमा मन्त्रीसमेत छन् ।

वाग्मती प्रदेशमा को–को छन् आकांक्षी ? 

वाग्मती प्रदेशमा प्रदेश सभापति पदका लागि देउवा पक्षबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ मुख्य आकांक्षी छन् ।

दुईपटक मन्त्री भइसकेका र पटक–पटक सांसद भएका मोहन बस्नेत १८ वर्ष सिन्धुपाल्चोकको सभापति भइसकेका व्यक्ति हुन् । बानियाँ वाग्मती प्रदेशमा कांग्रेस संसदीय दलका नेतासमेत छन् भने निश्चित समयपछि प्रदेशको मुख्यमन्त्री पाउने समेत सहमति गरेर बसेका छन् । तर, यो प्रदेशमा सिटौला समूहका नेता भिमसेनदास प्रधानले देउवालाई काठमाडौंमा साथ दिएर सहयोग मागिसकेका छन् ।

प्रधानका लागि सिटौलाले पनि अडान लिएमा प्रधानले संस्थापनका अन्य नेतालाई पछि पार्न सक्ने देखिएको छ ।

तर, सिटौलाको प्राथमिकतामा प्रदेश १ रहेकाले प्रधानको विषय टुंगो लागिसकेको भने छैन । १३ औं महाधिवेशन पछि सिटौला भन्दा देउवासँग बढी नजिक भएर काम गरेका प्रधान सिटौला–देउवा गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेता हुन् । त्यसैले उनले प्रदेश सभापतिमा उमेदवारी पनि सबैभन्दा पहिला घोषणा गरिसकेका छन् ।

पौडेल–कोइराला पक्षबाट भने काभ्रेका निवर्तमान सभापति मधु आचार्य, नुवाकोट सभापति जगदीश्वरनरसिंह केसी,  धादिङ सभापति रमेश धमला तथा काठमाडौंका नेता राजुराज जोशी आकांक्षी छन् ।

गण्डकी प्रदेशमा को–को छन् अकांक्षी ? 

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा १२ औं महाधिवेशनसम्म पौडेल कोइराला समूहमा रहेर १३औं महाधिवेशन देखि देउवा समूहमा आएका अर्जुन जोशीले उमेदवारी घोषणा गरिसकेका छन् । यसबाहेक संस्थापनबाट केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई र शंकर भण्डारी पनि आकांक्षी देखिएका छन् ।

संस्थापनइतर समूहबाट भने महेन्द्रध्वज जिसी मुख्य दावेदारका रुपमा हेरिएका छन् ।

यसबाहेक तनहुँका रघुनाथ पौडेलले उमेदवारी घोषणा गरिसकेका छन् । तनहुँका पूर्वसभापतिसमेत रहेका रघुनाथ कुनै बेला रामचन्द्र पौडेलका विश्वास पात्र मानिन्थे ।

तर, नेता गोविन्दराज जोशी र पौडेलको संघर्षमा रघुनाथ पौडेल कोपभाजनमा परेको र माथि उठन पनि उनै दुई नेताको संघर्ष बाधक बनेको नेताहरु बताउँछन् ।

लामो समयदेखि राजनीतिमा रहेका बौद्धिक नेता रघुनाथले अहिले गण्डकी प्रदेशमा नेतृत्वको आकांक्षा राखेका छन् । पौडेल–कोइराला पक्षबाट कास्कीका पूर्वसभापति शुक्रराज शर्मा पनि आकांक्षी देखिएका छन् ।

लुम्बिनी प्रदेशमा को को छन् आकांक्षी ? 

लुम्बिनी प्रदेशमा नवलपरासीका नेता देवेन्द्रराज कँडेल र रुपन्देहीका नेता भरत साह मुख्य आकांक्षीका रुपमा देखिएका छन् ।

संस्थापन पक्षकै बर्दियाका किशोरसिंह राठौर पनि यो प्रदेशमा आकांक्षी हुन् । कँडेल पटक–पटक सांसद भएर मन्त्री भइसकेका व्यक्ति हुन् भने साह पनि पटक–पटक सांसद हुँदै अहिले सार्वजनिक लेखा समितिको नेतृत्व गरिरहेका छन् ।

राठौर भने कांग्रेस फुटेका बेला देउवा निकट नेविसंघको अध्यक्ष भएर चलाएका ‘लडाकु नेता’ मानिन्छन् ।

लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षबाट नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्मा, रोल्पाका निवर्तमान सभापति अमरसिंह पुन तथा बर्दियाका सभापति संजय गौतम आकांक्षी छन् ।

रोल्पाका सभापति पुन र बर्दिया सभापति गौतम दुवै मन्त्री भइसकेका व्यक्ति हुन् । गौतम त आफ्नो क्षेत्रमा शक्तिशाली मानिएका नेता वामदेव गौतमलाई हराएर चर्चामा समेत आएका पात्र हुन् ।

कर्णालीमा को को छन् आकांक्षी ? 

संस्थापन पक्षबाट कर्णाली प्रदेश सभापतिमा सबैभन्दा अगाडि देखिएका अकांक्षी हुन् राजीव विक्रम शाह ।

उनको आकांक्षा केन्द्रीय सहमहामन्त्रीमा भए पनि संस्थापनले केन्द्रमा मिलाउन सहज हुने र प्रदेशमा जित्न पनि सहज हुने निष्कर्ष निकाल्दै शाहलाई कर्णाली प्रदेश सभापति पदमा उठाउन लागेको हो ।

यसबाहेक संस्थापन पक्षबाट कालीबहादुर सहकारी, ललितजंग शाहसहितका व्यक्तिहरु पनि आकांक्षी छन् ।

पौडेल–कोइराला पक्षबाट केन्द्रीय सदस्य हृदयराम थानी र तरूण दलका महासचिव भूपेन्द्रजंग शाहीसहितका नेताहरु दावेदार छन् । कर्णाली प्रदेशमा आशातित नतिजा नआएपछि थानीले केन्द्रतिरै लड्ने वा प्रदेशमा लड्ने निर्णय गरिसकेका छैनन् ।

सुदूरपश्चिम प्रदेशमा को को छन् आकांक्षी ? 

सुदूरपश्चिम प्रदेशको सभापतिमा देउवा पक्षबाट सबैभन्दा बलियो दावेदारका रुपमा केन्द्रीय सदस्य वीरबहादुर बलायर देखिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको नेविसंघ सभापति भएका बलाएर देउवा पक्षमा बलिया खम्बा मानिन्छन् ।

उनीसँगै संस्थापनबाट कैलालीका सभापति नरनारायण शाह, अछामका पसूर्वसभापति गोविन्दबहादुर शाहसहितका नेताहरु पनि अकांक्षीका रुपमा देखिएका छन् ।

तर, त्यहाँ देउवाले बलाएरका पक्षमा निर्णय गरे त्यो समूहका आकांक्षीहरु उनकै सहयोगमा लाग्ने देउवा निकट एक केन्द्रीय सदस्यको भनाई छ ।

पौडेल–कोइराला पक्षबाट भने पूर्वसांसद तथा वर्तमान प्रदेशसभा सदस्य भरतकुमार शाह मुख्य दावेदारका रुपमा देखिएका छन् । यो प्रदेशमा अन्य आकांक्षी देखिएका छैनन् ।

देउवासँग संघर्ष गरिरहेका कर्णबहादुर मल्ल टिमबाहिर निस्किएर प्रदेश सभापति दाबी गर्ने भने पनि उनीबाहेकको अधिवेशनलाई केन्द्रीय निर्वाचन समितिले मान्यता दिएपछि उनी महाधिवेशन प्रतिनिधि बन्ने नबन्ने नै अन्योलमा परेको छ ।

१४ मंसिर २०७८ मा प्रकाशित
Nabintech