मःम विश्वकै स्वादिष्ट परिकार

पिपलबाेट संवाददाता


भनाइ नै छ, ‘होटल तथा रेष्टुराँमा राखिएका मेनुमा माथिदेखि तलसम्म आँखा डुलाए पनि धेरैले माग्ने भनेको मःम नै हो।’ साथीहरू भेट हुँदा खाने खाजामा पनि चल्तीको मःम नै पर्छ। छिटो तयार हुने, तयार भएपछि केही समय राखेर खान पनि सकिने र प्रायः होटलमा पाइने भएकाले यो नेपालीका लागि प्रिय खाजा नै हो।

 

मःम नेपालसहित उत्तर भारत र तिब्बतमा खाजाको सूचीमा प्रचलित मानिन्छ। मःम विश्वमा नै लोकप्रिय डम्प्लिङ्स (मैदामा पोको पारिएको डल्ला) परिकारको सूचीमा परेको छ। सीएनएनले गरेको सर्वेक्षणमा मैदामा पोको पारेर बनाइएका ३२ परिकारको सूचीमा नेपालमा बनाइने मःम पनि छ

सीएनएनले समय समयमा गर्ने यस्ता सर्वेक्षणमा मःम पनि उत्कृष्ट डम्प्लिङ्समा पर्नु नेपालका लागि खुसीको कुरा भएको पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष विकल तुलाचन बताउँछन्। ‘नेपालमा हिमालदेखि तराईसम्म पाइन्छ, सामान्य होटलदेखि रेष्टुराँमा पनि पाइने मःम विश्वमै चल्ती छ,’ उनले भने। साकाहारी र मांसाहारी दुवैका लागि बनाइने भएकाले पनि मःम चल्तीको खाजा बनेको तुलाचन बताउँछन्।

बाफमा पकाइने स्वस्थ्यकर पनि मानिने उनको भनाइ छ। नेपालमा भने धेरै ‘बफ’ मःम बिक्री हुने होटल व्यवसायी बताउँछन्।

नेपालमा करिब तीन सय वर्ष अघिबाट मःम प्रचलनमा आएको बताइन्छ। होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार नेवारी समुदायका व्यापारीहरू भोट काम गर्न जाँदा त्यहाँ खाएका र त्यहाँ सिकेर नेपालमा पनि बनाउन सुरु गरेका हुन्।

त्यो समय तीन सय वर्ष अघिको भएको नेपाली खाना प्रवद्र्धन अभियानका अभियन्तासमेत रहेका शाह बताउँछन्। ‘तिब्बतमा नेपालको भन्दा आकारमा ठूलो पाइन्छ, नेपालमा ल्याएर विभिन्न आकारमा यसलाई बनाउन थालियो,’ शाहले भने, ‘अहिले यसका धेरै आकार प्रकार छन्।’

अहिले विश्वका धेरै देशमा नेपाली पुगेकाले सबैतिर उनीहरूले मःमलाई विस्तार गरेको शाहको भनाइ छ। उनी भन्छन्, ‘लन्डनमा सयभन्दा बढी नेपाली रेष्टुराँ छन्, ती सबैमा मःम बिक्री हुने गरेको छ।

नेपालमा २००७ सालमा पर्यटनको विकास हुन थालेपछि व्यावसायिक रूपमा मःम व्यवसाय फस्टाएको हो।’ नेपाली बजारमा मःमले बजार लिएको यकिन तथ्यांक भने भेटिँदैन। यसलाई तिब्बतमा मोहमो भनिन्छ भने नेपाल भित्रिएपछि मःम भन्न थालिएको जानकारहरू बताउँछन्। नेपालमा नेवारी समुदायले राखेको नाम हो। डल्लो आकारको मःमलाई नेवारी भाषामा मःमचा भनिन्छ। चाको अर्थ लोकल हो।

नेपालका हरेक सहर र सदरमुकाममा मःमको मात्रै पनि पसल खोलेर सञ्चालन गरेको भेटिन्छ। पहिला मासु मात्र राखेर मःम बनाउने चलन भए पनि अहिले बफ, चिकेन, मटन, पोर्ग, पनिर, फिस, भेज, दाल पालक साग, केरा, कोभीलगायतका २२ प्रकारका मःम नेपाली बजारमा पाइन्छ। नेपालमा घुम्न आउने वाह्य पर्यटकले नेपाली परिकार भएकाले मःम बढी रुचाउने गरेको पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष विकल तुलाचनले बताए। त्यसैले विदेशी धेरै पुग्ने पोखरामा मःमका धेरै पसल छन्।

काठमाडौंको ज्ञानेश्वरचोक मैतीदेवी जानेबाटोमा सञ्चालित पुरानो शानदार मःम पसलका सञ्चालक किरण श्रेष्ठ हरेक दिन यसका पारखी बढेको बताउँछन्। ४८ वर्षदेखि मःम बेच्दै आएका उनले काठमाडौंमा यसको व्यापार धेरै फस्टाएको बताए। ‘मेनु हेर्छन् मःम नै माग्छन्, यसलाई लोकप्रिय नै खानामा लिइन्छ, चिकेन, बफ र भेज तीनथरी गरी दिनमा ४, ५ सय प्लेट बेच्छु,’ उनले भने। काठमाडौंका गल्ली, ठेला, सडकछेउदेखि पाँचतारे होटल  र सडकको छेउमा ठेलागाडामा मःमको व्यापार हुन्छ। नेपालमा मःम एक प्लेटको ६० देखि १ हजार रुपैयाँसम्म भेराइटीअनुसार बिक्री हुन्छ। काठमाडौंमा मात्र दिनमा करिब १ करोडभन्दा बढीको मःम बिक्री हुने अनुमान छ।

१९ मंसिर २०७८ मा प्रकाशित
Nabintech