एक जना महाधिवेशन प्रतिनिधिले कति जनालाई भोट हाल्ने ?

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी शुक्रबारबाट काठमाडौंमा शुरु हुँदैछ। कांग्रेस महाधिवेशनमा केन्द्रीय सभापति देखि कार्यसमिति सदस्यसम्मलाई मत हाल्ने प्रक्रियामा देश तथा विदेशबाट गरी ४६ सय बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् ।

कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाबाट जिल्ला अधिवेशन प्रतिनिधिले आफू मध्येबाट निर्वाचित गरेका केन्द्रीय महाधिवेशन प्रतिनिधि, जिल्ला सभापतिसहित २५ जना र अपांगता भएका एक जना गरी २६ जना महाधिवेशन प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुनेछन् ।

यसैगरी दुई वा सो भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाबाट प्रत्येक क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन प्रतिनिधिले आफू मध्येबाट निर्वाचित गरेका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापतिसहित २५ जना तथा अपांगता भएका एक जना गरी २६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

यी सबै गरी १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले ४ हजार २ सय ९० जना महाधिवेशन प्रतिनिधि हुनेछन्। यसैगरी एक जिल्लाबाट एक जना थप गरी ७७ जिल्लाबाट ७७ जना अपांगता समूह तर्फबाट महाधिवेशन प्रतिनिधि केन्द्रीय नेतृत्व चयनका लागि भाग लिनेछन्। तर हालसम्म ६१ जिल्लाको मात्र जिल्ला अधिवेशन सम्पन्न भएका कारण अपांगतातर्फ ति अधिवेशन हुन बाँकी १६ जिल्लाको प्रतिनिधि के गर्ने भन्ने तय भइसकेको छैन ।

यस्तै निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्य एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने व्यवस्थासमेत कांग्रेस विधानमा छ । यसरी हेर्दा हाल केन्द्रीय समितिमा रहेका सबै पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् ।

यसैगरी विभिन्न भ्रातृ तथा सुभेच्छुक संस्थाबाट तोकिएका प्रतिनिधि, विदेशस्थित जनसम्पर्क समितिबाट आएका प्रतिनिधि पनि महाधिवेशनमा सहभागी हुनेछन् ।

कांग्रेसको संसोधित विधान अनुसार केन्द्रीय कार्यसमिति १ सय ६७ सदस्यीय हुनेछ । यो संख्यामध्ये निर्वाचनमार्फत भने १३ पदाधिकारीसहित १ सय ३४ जना चुनिने छन् । कार्यसमितिमा कोषाध्यक्ष भने निर्वाचित सभापतिले निर्वाचित सदस्यहरु मध्येबाट नै मनोनित गर्ने छन् । बाँकी सदस्य निर्वाचित सभापतिले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गराउने गरी मनोनित गर्ने छन् ।

कांग्रेसमा सभापति, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री संविधानले व्यवस्था गरेको विभिन्न आठ वटा क्लष्टर अनुसार (खस-आर्य, जनजाति, महिला, मधेसी, मुस्लिम, थारु, दलित र पिछडिएको क्षेत्रबाट एक-एक जना) गरी १३ जना पदाधिकारी महाधिवेशन प्रतिनिधिको मतमार्फत चुनिने छन् ।

यसैगरी केन्द्रीय सदस्य खुलातर्फ ३५ जना निर्वाचनबाट चयन हुने छन् ।

यसैगरी सात प्रदेशबाट महिलासहित २१ जना, खुला महिलाबाट ९ जना, खस-आर्यबाट ६ महिलासहित १३ जना, आदिवासी जनजातिबाट ७ महिलासहित १५ जना, मधेसीबाट ४ महिलासहित ९ जना, दलितबाट ४ महिलासहित ९ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित ३ जना, पिछडिएको क्षेत्रबाट १, अल्पसंख्यकबाट १, अपाङ्गता भएकाबाट १ गरी एक सय ३४ जनालाई एक जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नु पर्नेछ ।

 

२१ मंसिर २०७८ मा प्रकाशित
Nabintech