कांग्रेस १४औं महाधिवेशनको आचारसंहिता: व्यक्तिगत चरित्रमा लान्छना लगाउन नपाइने

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसले आचार संहिता जारी गरेको छ। १४औं महाधिवेशनलाई मध्यनजर गर्दै आचारसंहिता जारी गरिएको हो।

 

आचारसंहितामा आफ्नो उम्मेदवारीको प्रचार प्रसार गर्नुपर्दा भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्न सकिने उल्लेख छ। कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्नेगरी प्रचार प्रसार गर्न नपाइने आचारसंहिता बनाइएको छ।

मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार प्रसार गर्न कांग्रेसले अनुरोध गरेको छ। आचारसंहितामा भनिएको छ, ‘नेपाली काग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुर र राष्ट्रिय सभा गृह, भकटी मण्डप, प्रदशनी मार्ग, यी दुई स्थान पार्टीको महाधिवेशनसंग सम्बन्धित स्थल रहेकोले उक्त दुई स्थानहरुको वरिपरि ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामग्रीः व्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्लेट इत्यादी टास्न एवं माइकिह गर्न समेत मनाही गरिएको छ।’

‘यस प्रकारका प्रचार सामाग्री उक्त निषेधित क्षेत्रभित्र टासिएको, राखिएको देखिएमा केन्द्रीय निर्वाचन समितिले हटाउने व्यहोरा समेत सबैलाई जानकारी गराइन्छ। निर्वाचनको क्रममा शान्ति सुव्यवस्था कायम गर्न गराउन र शान्तिपूर्वक मतदानमा संयमित भएर भाग लिन सबै महाधिवेशन प्रतिनिधिहरुलाई अनरोध गरिन्छ। मतदानस्थलभित्र (भृकुटी मण्डप राष्ट्रिय सभा गृह प्रवेश गर्दा मोबाईल फोन लिएर जान पाइने छैन,’ आचारसंहितामा उल्लेख छ।

केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरुलाई मध्यनजर गर्दै आचार संहिता जारी गरिएको काग्रेंसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

२२ मंसिर २०७८ मा प्रकाशित
Nabintech