जापानमा बन्यो भाइरस पत्ता लगाउने मास्क, समलिङ्‍गी विहेलाई कानुनी मान्यता

पिपलबाेट संवाददाता


जापानका वैज्ञानिकहरुको एक टोलीले भाइरस पत्ता लगाउने मास्क बनाएका छन्। कोरोना भाइरस भए नभएको पत्ता लगाउने गरी पश्चिम जापानस्थित क्योटो प्रिफेक्चरल युनिभर्सिटीका वैज्ञानिकहरुको टोलीले सो मास्क बनाएका हुन्।

आफूमा कोरोना भाइरस संक्रमण भए नभएको सो मास्कले पत्ता लगाउने वैज्ञानिकहरुको दाबी छ। यदि संक्रमण भएमा सो मास्कले चम्किलो अल्ट्राभायालेट रंगमा भाइरस देखाउने बताइएको छ।  टोलीको नेतृत्व गरेका ५२ वर्षीय वैज्ञानिक यासुहायरो सुकामोतोले सो मास्क लगाउने व्यक्ति आफू कोरोना संक्रमित भए/नभएको सहजै थाहा हुने दाबी गरेका छन्।

 

सो मास्कको सफल परीक्षण भइसकेको र आगामी वर्षको सुरुवातमै सरकारबाट सो मास्क प्रयोगको अनुमति पाउने आशा वैज्ञानिकहरुले गरेको क्योडो न्युजमा समाचार छ।

१६ वर्षपछि जर्मनमा नयाँ चान्स्लर

बर्लिनः करिब १६ वर्षपछि जर्मनले नयाँ चान्स्लर पाएको छ। १६ वर्ष लामो एन्जेला मर्केल युगको अन्त्यसँगै सोसल डेमोक्रेट्सका ओलाफ स्कोल्जलाई जर्मनीले नयाँ चान्स्लरको रुपमा पाएको हो।

उनलाई बन्डेस्ट्यागको तल्लो सदनले नयाँ चान्स्लरको रुपमा चयन गरेको हो। सांसदहरुले बुधबार उनलाई जर्मनको नयाँ चान्स्लरको रुपमा चयन गरेसँगै उनले पदभारसमेत ग्रहण गरिसकेका छन्।

ओलाफ जर्मनको नयाँ चान्स्लर बनेसँगै करिब १६ वर्ष लामो समयसम्म जर्मनको नेतृत्व गरेकी एन्जेला मर्केल युगको समाप्तीको घोषणा गरिएको छ। ६३ वर्षीय स्कोल्जले मर्केलको समयमा भाइस चान्स्लर र अर्थमन्त्रीको रुपमा काम गरेका थिए।

समलिङ्गी विहेलाई कानुनी मान्यता

एन्टोफागास्ताः दक्षिण अमेरिकी मुलुक चिलीले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिएको छ। मंगलबार कंग्रेसको दुवै सदनले भारी मतका साथ भोट खसालेपछि सो बिवाहले कानुनी मान्यता पाएको हो।

चिलीको सिनेटबाट सो विहेको पक्षमा ८२ भोट खसेको थियो भने त्यसको विपक्षमा जम्मा २० भोट खसेको थियो। चिलिले समलिङ्गी विहेलाई कानुनी मान्यता दिएको भन्दै सो दिनलाई सदनका सदस्यहरुले ऐतिहासिक दिन भनेका छन्।

समलिङ्गी विहेले कानुनी मान्यता पाएसँगै अब चिलीका समलिङ्गी दम्पतिहरुले सन्तान एडप्ट गर्नसमेत पाउनेछन्। सन् १९९१ देखि समलिङ्गी विवाहको माग गरिँदै आएको चिलीमा हालसम्म सो विहेले कानुनी मान्यता पाएको थिएन।

अष्ट्रेलियाले पनि बेइजिङ ओलम्पिक्स बहिष्कार गर्ने

क्यानबेराः अष्ट्रेलियाले पनि चीनको राजधानी बेइजिङमा हुने सितकालीन ओलम्पिक्स खेलकुद बहिष्कार गर्ने भएको छ। अमेरिकाको कदम पछ्याउँदै अष्ट्रेलियाले बुधबार कूटनीतिकरुपमा सो खेलकुद बहिष्कार गर्ने निर्णय गरेको हो।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बुधबार चीनसँगको सम्बन्धलाई थप जोखिमपूर्ण बन्न नदिन आफू पनि अमेरिकाको निर्णयसँग सामेल भइ बेइजिङमा हुने सितकालीन ओलम्पिक्स बहिष्कार गर्ने बताएका छन्।

‘अष्ट्रेलियाली सरकारका अधिकारीहरु सो खेलकुदमा सहभागी हुन बेइजिङ नपुगे पनि अष्ट्रेलियाली खेलाडीले भने सो प्रतिस्पर्धामा भाग लिनेछन्,’ मोरिसनले रिपोटरहरुसँग भनेका छन्।

अमेरिकाले सोमबार सितकालीन बेइजिङ ओलम्पिक्स कूटनीतिकरुपमा बहिष्कार गर्ने घोषणा गरेको थियो। चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण सो प्रतियोगितामा आधिकारिक प्रतिनिधि नपठाउने निर्णय गरेको अमेरिकी पक्षले जनाएको थियो।

पत्रकारलाई बन्दी बनाउनेमा चीन संसारकै ठूलो मुलुक

बेइजिङः पत्रकारलाई बन्दी बनाउनेमा चीन सबैभन्दा अगाडि रहेको एक रिपोर्टले देखाएको छ। रिपोटर्स विदआउट बोडर्स (आरएसएफ) को एक रिपोर्टले सो तथ्य देखाएको हो।

आरएसएफकाअनुसार चीनले हालः कम्तीमा १२७ संबाददाताहरुलाई बन्दी बनाएर हिरासतमा राखेको छ। चीनले पत्रकारिताविरुद्ध विश्वव्यापीरुपमा ‘दमनको अद्‍भूत अभियान’ सञ्चालन गरेको समेत सो रिपोर्टले उल्लेख गरेको छ।

चीनले समाजमा विभिन्न समस्या खडा गरेको आरोपमा विभिन्न संबाददाता विशेषगरी नागरिक पत्रकारहरुलाई पक्राउ गर्दै आएको बताइएको छ। विश्व कोरोना भाइरस महामारीले प्रेसमाथि झनै ठूलो अंकुश लगाएको समेत आरएसएफको रिपोर्टमा उल्लेख छ।

सन् २०२० मा उहानमा कोभिड १९ संकटको रिपोर्टिङ गरेकै आधारमा १० भन्दा बढी पत्रकारहरुलाई चीनले थुनामा राखेको छ। चीन सरकारविरुद्ध आवाज उठाउने र त्यहाँका उत्पीडित एवं दमनमा परेका समुदायको आवाज उठाउने पत्रकारहरुलाई चीनले बन्दी बनाउने गरेको रिपोर्टमा उल्लेख छ।

म्यानमार सेनामाथि १३ गाउँलेलाई गोली हानेर जलाएको आरोप

मोन्यावाः म्यानमार सेनाले एउटै गाउँका १३ स्थानीय बासिन्दालाई गोली हानेको र उनीहरुलाई एकमुष्ट जलाएको आरोप त्यहाँका सैनिकमाथि लागेको छ। मोन्यावा शहरनजिकैको गाउँमा आक्रमण गरेको सेनाले एउटै गाउँका १३ वासिन्दाको क्रूरतापूर्वक हत्या गरेको आरोप लागेको हो।

सेनाले गोली हानी हत्या गरेका उनीहरुको शव मंगलबार फेला परेको स्थानीय मिडियामा खबर छ। सेनाले ६ पुरुष र पाँच किशोरकिशोरीलाई गोली हानेको र घटनास्थलमै उनीहरुको शरीरमा आगो लगाएको स्थानीयले बताएका छन्।

सो घटनाबारे म्यानमार सेनाले हालसम्म कुनै प्रतिक्रिया नजनाएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। गत फेब्रुअरीमा म्यानमार सेनाले शैन्य ‘कू’ लागू गरेपछि हालसम्म सेनाले कम्तीमा १३ सयभन्दा बढी निर्दोष नागरिकको हत्या गरेको छ भने १६ हजार ६ सयलाई पक्राउ गरी थुनामा राखेको बताइएको छ।

पाकिस्तानमा वर्षेनि हजारौं अल्पसंख्यक युवती बन्धकमा

इस्लामाबादः पाकिस्तानमा धार्मिक अल्पसंख्यक समुदायका हजारौं युवतीहरु बन्धकमा पर्ने गरेको खुलेको छ। पाकिस्तानमा रहेका धार्मीक अल्पसंख्यक समूह हिन्दू र क्रिष्चियन धर्मका वर्षेनि हजारौं युवतीहरु बन्धकमा पर्ने गरेको नयाँ रिपोर्टले खुलाएको हो।

बेलायतीद्वारा सञ्चालित अल पार्टी पार्लियामेन्ट्री समूहको इस्लाम खबरमा हालै प्रकाशित समाचारअनुसार वर्षेनि हजारौं अल्पसंख्यक समुदायका युवतीलाई बन्धक बनाइ जबरजस्ती इस्लाम धर्ममा परिणत गर्ने गरेको पाइएको छ। हालः करिब ६ हजार ७५४ महिलालाई पञ्जाव प्रान्तमा बन्धक बनाएर राखिएको रिपोर्टमा उल्लेख छ।

जसअनुसार १२ देखि २५ वर्ष उमेर समूहका धार्मिक अल्पसंख्यक समूहका युवतीहरु बन्धकमा पर्ने गरेको बताइएको छ। पाकिस्तानको कूल जनसंख्यामध्ये १.६० प्रतिशत क्रिष्चियन र करिब १.५९ प्रतिशत हिन्दू जनसंख्या रहेको छ। त्यसबाहेक पाकिस्तानमा बौद्ध, शिख र कलश धर्मावलम्बीहरुसमेत रहेको बताइन्छ।

युरोपमा ५–१४ उमेर समूहका बालबालिकामा कोभिड संक्रमण बढी

जेनेभाः युरोपमा ५ देखि १४ उमेर समूहका बालबालिकामा कोभिड संक्रमण दर सबैभन्दा बढी रहेको तथ्य सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले मंगलबार तथ्यांक सार्वजनिक गर्दै सो तथ्य देखाएको हो।

डब्ल्युएचओको क्षेत्रीय निकाय युरोपका निर्देशक ह्यान्स क्लजले विगत दुई महिनामा युरोपका विभिन्न ५३ वटा मुलुकमा अन्य उमेर समूहका मानिसको तुलनामा ५ देखि १४ उमेर समूहका बालबालिकामा कोभिड संक्रमण दर उच्च रहेको बताएका छन्।

एक रिपोर्ट सार्वजनिक गर्दै उनले बालबालिकामा कोभिडविरुद्धको खोप अति नै आवश्यक रहेको तर्कसमेत गरेका छन्। बालबालिकामा कोभिड संक्रमण दर उच्च हुनुको मुख्य कारण बालबालिकाका अभिभावक र बालबालिकाको खेल्ने उमेर रहेको उनले बताएका छन्।

सुडानको जातीय हिंसामा मर्नेको संख्या १ सय नाघ्यो

खार्तुमः सुडानको वेस्ट डार्फर राज्यमा दुई जातीय समुदायबीच हिंसा भड्किदा मर्नेको संख्या १ सय नाघेको छ। अरब जाति र अफ्रिकन मसालित समुदायबीच हिंसा भड्किदा बुधबारसम्म मर्नेहरुको संख्या एक सय नाघेको हो।

सो हिंसा डार्फरको क्रेइनिक क्षेत्रमा भएको बीबीसीले जनाएको छ। सशस्त्र समूहले क्रेइनीकको पश्चिमी गाउँमा आक्रमण गरेपछि हिंसा सुरु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। संयुक्त राष्ट्रसंघकाअनुसार सो हिंसापछि हजारौं स्थानीयले भागेर ज्यान बचाएका छन्।

गत आइतबार सो क्षेत्रमा हिंसा सुरु भएको थियो। हिंसा सुरु भएको पहिलो दिन कम्तीमा ५५ मानिसको मृत्यु भएको थियो। पछिल्लो हिंसामा १ सयभन्दा बढी मानिस मारिएका छन् भने दर्जनौं हराइरहेको बताइएको छ।

संयोजन : अस्मिता खड्का

२२ मंसिर २०७८ मा प्रकाशित
Nabintech