विपिन रावत : नेपाल र नेपालीलाई असाध्यै माया गर्ने सैनिक प्रमुख

पिपलबाेट संवाददाता


काठमाडौँ । भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतको हेलिकप्टर दुघर्टनामा मृत्यु भएको छ ।  उनीसहित हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

रावत भारतीय वायुसेनाको एमआई १७भी५ दोहोरो इञ्जिनवाला हेलिकोप्टरमा चढेर डिफेन्स सर्भिस स्टाफ कलेज वेलिङ्टन जाँदै गर्दा बुधबार अपराह्न तमिलनाडुको नीलगिरी पहाडमा दुर्घटनामा परेका थिए । हेलिकोप्टरमा पत्नी मधुलिकासहित सेनाका उच्च अधिकारीहरु सहभागी थिए ।

भारतका सेना प्रमुख रावतको निधनले नेपाललाई पनि स्तब्ध बनाएको सुरक्षामा चासो राख्नेहरुको टिप्पणी छ ।

रावतसँगै पढेका नेपाली सेनाका अवकाशप्राप्त उपरथी विनोज बस्न्यात उनको मृत्युको समाचार सुन्दा साह्रै दुःख लागेको बताउँछन् ।

“सन् २०१० मा नेसनल डिफेन्स कलेजमा उहाँ र म सँगै एक वर्ष पढेका थियौँ,” उनले भने, “असाध्यै सरल र भलाद्मी व्यक्तित्व । परिवार पनि त्यस्तै । नेपाल र नेपाली मन पराउने । आफ्नो भारतीय समकक्षीलाई भन्दा पनि नेपालीलाई बढी माया गर्ने मान्छे । तर काममा व्यावसायिकता पनि ।”

सुरक्षा मामिलाका जानकारसमेत रहेका बस्न्यातकाअनुसार विपिन रावत गुमाउँदा नेपालसँगको सैनिक सम्बन्ध जुन किसिमले सुदृढ हिसाबले अगाडि बढेको थियो त्यसमा केही न केही हिसाबमा धक्का पर्नु हो ।

“हामीलाई माया गर्ने त्यत्तिको राम्रो मान्छे पाइँदैन,” उनले थपे, “सैनिक सम्बन्धमा नेपाली र नेपालमा बस्नेसँग धेरैसँग उहाँको सम्बन्ध राम्रो थियो । नेपाललाई असाध्यै माया गर्ने मान्छे हो ।”

नेपाल र नेपालीलाई पनि बुझेको, सैनिक जीवनको झण्डै पूरै समय गोर्खा पल्टन नेपालीसँगै बिताएकोले अन्य भारतीय सेनाका पदाधिकारीभन्दा रावतसँगको सम्बन्ध विशेष रहेको विज्ञहरु बताउँछन् ।

बस्न्यात भन्छन्, “माथिल्लो लेभलमा पुगेको व्यक्तिमा नेपाली र नेपाललाई विशेष माया गर्ने उहाँ नै हो । उहाँ स्थल सेनाध्यक्ष हुँदा नेपालसँगको सैनिक सम्बन्धमा धेरै सुधार भएको थियो । अहिले पनि सम्बन्ध राम्रो थियो ।”

पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री असाध्यै राम्रो मित्रको दुर्घटनामा गुमाउनु परेको बताउँछन् ।

क्षेत्रीको प्रधान सेनापति रावत स्थल सेनाध्यक्ष थिए । क्षेत्रीको कार्यकालमा रावतले दुईपटक नेपाल भ्रमण गरेका थिए भने उनले एकपटक भारत भ्रमण गरे ।

अवकाश पाएपछि रावतकै कार्यकालमा दुईपटक भारत भ्रमण गरेको क्षेत्री अझै सम्झिन्छन् ।

भन्छन्, “हरेक पटक भेट्दा नेपालीलाई विशेष हिसाबले हेर्ने र माया गर्नुहुन्थ्यो । नेपाली सेनासँग व्यावसायिक सम्बन्ध  उचाइमा पुर्‍याउन उनको उल्लेखनीय भूमिका छ ।”

तर भारतले ०७२ मा नेपालमाथि लगाएको नाकाबन्दीमा भने रावतले अलि फरक व्यवहार देखाएको क्षेत्रीको भनाइ छ ।

तर पछि उनी प्रमुख भएर आएपछि धेरै कुरामा नेपालप्रतिको सदभाव राम्रो पाएको पूर्वसेनापति क्षेत्री बताउँछन् ।

भन्छन्, “देशको प्रधान सेनापति भएपछि आफ्नो देशको नीति तथा स्वार्थभन्दा बाहिर गएर कसैले केही गर्दैनन् । हामीले पनि गर्दैनौँ । तर पनि सेना सेनाबीचको सम्बन्ध सुधारमा लागि जे गर्नुभयो त्यसमा शंका गर्ने कुनै ठाउँ थिएन ।”

भारतीय पल्टनमा रहेका नेपाली सैनिकका लागि उनीहरुको कल्याणकारी योजनामा नेपाल सरकारबाट सहज र सहयोग प्राप्त होस् भन्ने अपेक्षा त्यसबेला रावतको भएको क्षेत्री सम्झन्छन् ।

“नेपाली भाषा बोल्ने र नेपालीलाई माया गर्ने हुँदा काम गर्न सहज भयो,” उनले भने, “अहिलेको स्थलध्यक्ष  मनोज मुकुन्द नरवणेसँग वर्तमान सेनापति प्रभुराम शर्माको राम्रै व्यावसायिक सम्बन्ध छ । उनीहरुले आफ्नो नीतिमा तात्विक सम्बन्ध फरक नपारे पनि सेना सेनाबीचको सम्बन्ध जो सेनापति भए पनि महत्व र प्राथमिकता दिइन्छ ।”

भारतको पौरी गडवाल उत्तराखण्डमा १६मार्च सन् १९५८ मा जन्मेका रावत नेपाली भाषा सहजै बोल्ने उनलाई चिन्नेहरु बताउँछन् ।

१६ सेप्टेम्बर सन् १९७८ बाट सेवामा प्रवेश गरेका उनले आफ्ना पिताझैँ गोर्खा राइफल्सको पाँचौँ बटालियनबाट सैनिक जीवन सुरु गरे ।

त्यहीँबाट नै उनलाई नेपाल र नेपालीप्रति विशेष लगाव भएको जानकारहरु बताउँछन् ।

सन् २०१६मा सेना अध्यक्ष बनेका रावत २७औँ स्थल सेनाध्यक्ष थिए । त्यसअघि उनी भारतीय सेनाका उपप्रमुख नियुक्त भए ।

उनी चिफ अफ स्टाफ कमिटीका ३२औँ अध्यक्ष पनि हुन् ।  भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ पनि हुन् । ३१ डिसेम्बर २०१९ बाट उनले सो पद ग्रहण गरेका थिए ।

रावत भारतीय सेनामा कार्यरत तेस्रो पुस्ता हुन् । फुटबल खेल्न र पढ्न रुचाउने उनी डिफेन्स सर्भिस स्टाफ कलेज वेलिङटनबाट एमफिल गरेका थिए ।

जनरल रावत यसअघि भारतीय सेनाको स्थलअध्यक्ष हुँदा नेपाल भ्रमणमा आएका थिए । तत्कालीन प्रधानसेनापति क्षेत्रीको निमन्त्रणमा रावत १५ चैत ०७३ मा नेपालको चार दिने औपचारिक भ्रमणमा काठमाडौँ आएका थिए । उनलाई पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत गरेका थिए ।

उनले देहरादूनको क्याम्ब्रियन हल स्कूल र सेन्ट एडवार्ड स्कूल सिम्लाबाट विद्यालयतहको शिक्षा पूरा गरेका थिए ।

२२ मंसिर २०७८ मा प्रकाशित
Nabintech