सिटौलाले विश्वप्रकाशलाई भने: विगतमा जे-जे भयो, अब तीतामिठा कुरा बिर्सिऔं

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा रहेका विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौलाको गृह जिल्ला एउटै हो। दुबै जना झापाका हुन्। कांग्रेसको राजनीति सिटौला शर्माभन्दा निकै सिनियर हुन्।

१२ औं महाधिवेशनबाट कांग्रेस महामन्त्री बनेका सिटौला १३ औं महाधिवेशनमा सभापतिका उम्मेदवार थिए भने शर्मा यसपालि महामन्त्री निर्वाचित भएका छन्।

एउटै जिल्लाका भए पनि सिटौला र शर्माबीचको सम्बन्ध सौहार्दपूर्ण थिएन। पछिल्लो समय सिटौलाले सभापति शेरबहादुर देउवासँग मिलेर महामन्त्रीमा आफ्नो प्यानलका प्रदीप पौडेललाई उम्मेदवार बनाएका थिए।

मत परिणाममा विश्वप्रकाश विजयी बने, पौडेल पराजित भए।

महामन्त्री निर्वाचित भएपछि विश्वप्रकाशले शनिबार सिटौलालाई फोन गरे।

स्रोतका अनुसार सिटौलाले विश्वप्रकाशलाई ‘म तपाईंलाई फोन गरेर बधाई दिन खोज्दै थिएँ। तर निकै बिजी थियो’ भने।

विश्वप्रकाशले आफू आशिर्वाद लिन आएको बताए। सिटौलालले उनलाई विगतमा जे-जे भयो, तीतामीठा सबै बिर्सेर अघि बढ्नु पर्ने बताए।

‘तिमी महामन्त्री भयो। अझै अघि बढ्नू। विगतमा जे-जे भयो ती सबै तीतामीठा कुरालाई अब बिर्सिऔं,’ सिटौलाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

लामो समय आफूलाई असहयोग गरेका सिटौलालाई किन भेट्न जानुभयो भन्ने प्रश्नमा विश्वप्रकाशले पार्टीको आन्तरिक प्रतिष्पर्धा सकिएकाले अब मिलेर जानुपर्ने बताए।

‘पार्टीको आन्तरिक प्रतिष्पर्धामा द्वन्द्व भयो होला। अब त्यो सकियो। परिणाम आइसक्यो,’ विश्वप्रकाशले भने,‘उहाँहरूको साथ, सहयोग र आशिर्वाद लिएर अघि बढ्न जरूरी छ। त्यही भएर म गएको हो।’

सिटौला-विश्वप्रकाश सम्बन्धको नालीबेली

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा एउटै जिल्लावासी हुन्। कांग्रेसमा प्रभावशाली भूमिकामा रहेका यी दुवै झापाली नेताबीच सधैं छत्तीसको आँकडा रहँदै आएको छ।

गृहजिल्ला झापा कांग्रेसको यसपटकको अधिवेशनदेखि त उनीहरूको प्रतिस्पर्धा झनै बढेको छ। पार्टी चौधौं महाधिवेशनमा यी दुबै नेता संयोगले एउटै टिममा आइपुगेका छन्।

१३ औं महाधिवेशनदेखि नै शर्मा देउवासँगै छन्। जिल्ला र प्रदेश अधिवेशनको दौरानमा नेता सिटौला सभापति शेरबहादुर देउवा क्याम्पमै पुगेका छन्।

कतिपयले शक्ति हात पार्न दुबैले विगत बिर्सेर सहकार्य गर्नसक्ने अनुमान गरेका छन्।

कांग्रेस केन्द्रको विभिन्न भूमिकामा देखिँदा सुरूमा सिटौला र शर्मा दुबै कोइराला प्यानलमा थिए। गिरिजाप्रसाद कोइरालाले पार्टी केन्द्रमा सिटौलालाई विश्वास गर्दा विद्यार्थी राजनीतिमा उनले शर्मालाई पत्याएका थिए।

२०५७ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सभापतिमा शर्माको दाबी गरेपछि सिटौला उनको विपक्षमा खुलेरै लागे। यद्यपि शर्मा सभापति बने। त्यही बिन्दुदेखि यी दुईबीच असमझदारी चुलिन सुरू भएको थियो।

सिटौला र शर्माबीचको दरारपूर्ण सम्बन्धको उत्कर्ष कांग्रेसको १२ औं महाधिवेशन थियो। त्यो बेला शर्मा झापा सभापतिमा चुनाव लड्दा सिटौलाले उद्धव थापालाई अघि सारेका थिए। शर्मा पराजित भए।

‘त्यो जिल्ला अधिवेशनले उहाँहरूबीच झनै असमझदारी बढायो,’ झापा कांग्रेसका एक नेता भन्छन्, ‘त्यो अहिलेसम्म जारी छ।’

पछिल्लो समयमा केन्द्र र जिल्ला दुवैतिर शर्माले शक्ति बढाउँदै लगेपछि सिटौला सशंकित रहेको कांग्रेस वृत्तमा चर्चा छ। यही आपसी बेमेलले उनीहरूबीच कटुतापूर्ण प्रतिस्पर्धाको अवस्था ल्याएको हो।

१३ औं महाधिवेशनका बेला शर्माले सुरूमै देउवा पक्षमा आफूलाई उभ्याएका थिए भने सिटौला आफैं सभापतिको दौडमा थिए। पहिलो चरणको मतदानमा तेस्रो भएर अर्को चरणमा पुग्न विफल भएपछि सिटौलाले देउवालाई सघाएका थिए। रामचन्द्र पौडेललाई पराजित गरेर देउवा सभापति बनेपछि सिटौला केही समय मौन रहे। त्यसपछि भने उनी निरन्तर देउवाको विपक्षमा उभिँदै आए। चौधौं महाधिवेशनका क्रममा सिटौला फेरि देउवा पक्षमै आइपुगे।

४ पुष २०७८ मा प्रकाशित
Nabintech