कपडा नहुँदा अगेनाको छेउमा रात कटाउँछ दशरथ चेपाङको परिवार

पिपलबाेट संवाददाता


आइतबार बिहान ५ बजे कुखुरा भालेको डाँकोसँगै निद्रा खुल्यो।

नित्यकर्म सकेर कान्देश्वरी आधारभूत विद्यालयको कुमार बलराम स्मृति छात्राबासबाट म ओरालो लागें। जुनेली रात भए पनि ठूला-ठूला रूखले जुनको प्रकाश छोपिदिएका थिए।

विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले टर्च लाइट बालेर गोरेटो देखाइदिए।

छात्राबासबाट करिब दुई सय मिटर तल विद्यालय भवन छ। भवन छाडेर करिब २ मिनेट ओर्लिएपछि फेरि एउटा भाले बास्यो।

दशरथ चेपाङले पालेको बढेमानको भाले रहेछ।

गोरेटो आडैको खरले छाएको छाप्रो र पर्खाल नलगाइएको धन्सार दशरथको हो। छाप्रोको मूल ढोकामा पखेंटा फिँजाइरहेको थियो खाइलाग्दो रातो भाले। मेरो ध्यान भने छाप्रोसँग जोडिएको धन्सारको बीच भागमा रहेको अगेनोले तान्यो। अगेनोमा आगो बलिरहेको थियो। अगेनो वरिपरि थिए साना केटाकेटी। उनीहरू नजिकै दर्जन बढी कुखुरा र चल्लाहरू भुइँ खोस्रिँदै थिए।

आगोको छेवैमा निदाइरहेका थिए दशरथका चार वर्षे छोरा पूर्णसिंग।

एक थान च्यातिएको र मैलो कपडाले पूर्णसिंगको शरीरको माथिल्लो भागको करिब आधा हिस्सा ढाकेको। आधा हर कपडाविहीन छ वर्षीया छोरी बागमती भने भाले बास्नुअघि नै जागेकी थिइन्।

राति सुत्दा बलिरहेको आगो निभेको केही समयमा उनी ब्युँझिएकी थिइन्। १३ वर्षीया दिदी मुरलीलाई पनि उठाइन्। दिदी–बहिनी मिलेर आगो बाले।

उही छानोमुनि सुतेका दशरथ र उनका दुई श्रीमती सबेरै गाई वस्तुको स्याहार गर्न निस्किसकेका थिए।

हामीलाई देखेपछि दशरथ घरमा आइपुगे।

‘हाम्रो त सुत्ने ठाउँ नै यही हो। ओड्ने, ओछ्याउने केही छैन, खरको छानोमुनि रातभरि आगो बाल्न भएन,’ दशरथले भने, ‘यो खुला घरको माझमा आगो बाल्यो, वरिपरि सुत्यो।’

उनीसँगै आइपुगेकी जेठी श्रीमती बैरी केटाकेटीलाई सुम्सुम्याउन थालिन्।

केहीबेरमा एक वर्षे दुधे बच्चा च्यापेर दशरथकी कान्छी श्रीमती सिर्जुमाया पनि आइपुगिन्।

समुद्र सतहबाट करिब चौध सय मिटर उचाइमा रहेको कान्दास्थित दशरथ चेपाङको घरमा पुसको चिसो रात कटाउने साधन हो आगो।

रात कटाउन अगेनाको डिलमा सुत्नु यो परिवारको बाध्यता हो।

‘छोरा, छोरीलाई न्यानो कपडा लगाइदिने, विस्तारामा सुताउने मन त कसलाई हुन्न र?,’ दशरथले भने, ‘नाम त भगवान रामकै बावुको पाइयो तर भाग्य यस्तो मिल्यो।’

उनले मन भएर पनि छोरा, छोरीलाई एक सरो लुगा किनिदिन नसकेको बताए। नुन, तेल, चामल किन्न उनले कुखुरा, बाख्रा पाल्ने गर्दा रहेछन्।

‘यिनै कुखुरा, बाख्रा हुर्काउँदै बेचेर परिवारलाई खानाको जोहो गर्नुपरेको छ,’ उनले भने, ‘यिनलाई पनि हुर्काउन नसके त खानै पाइँदैन।’

उनले अन्न सकिएपछि जंगलबाट गिठा, भ्याकुर, सिस्नु ल्याएर भएपनि परिवारलाई खुवाउने गरेको सुनाए।

२०७२ सालको वैशाखमा भूकम्प जाँदा दशरथको घरभित्रको अगेनामा गिठा पाकिरहेको थियो।

खरले छाएको उनको घर भूकम्पले गर्ल्याम्म ढलाइदियो। अगेनाको आगोले खर, डाँडा, भाटा, काठमा सल्क्यो। ‍सबै जले। घरभित्र रहेका मकै, कोदो पनि आगोले खाइदियो।

भूकम्पले उठीबास लगाएको उनको परिवारले केही दिन छिमेकीको साहरा लिए। केही समयमा दशरथले खरकै छाना भएको एउटा सानो झुप्रो ठड्याए।

९ जनाको परिवारका लागि यो झुप्रो असाध्यै सानो थियो। भूकम्प पूनर्निर्माण प्राधिकरणको मापदण्डभित्र परे पनि उनले घर बनाउनका लागि आवश्यक कागजपत्र जुटाउन सकेनन्।

केही छिमेकीले दुइटी श्रीमती भएका कारण सरकारी अड्डा धाउँदा कानुनी झण्झट आइलाग्न सक्ने सुनाइदिएपछि उनी त्यसतर्फ लाग्न चाहेनन्।

पछि सामाजिक संस्था लक्ष्मी प्रतिष्ठानका प्रमुख विष्णु गौतमले नयाँ घर बनाउनका लागि जस्तापाता दिने भए। दशरथले घरका लागि आवश्यक पर्ने काठहरूको जोहो गरे। जस्तापाताले छाएर घर ठड्याए। तर घरमा गारो लगाउन अझै सकेका छैनन्। यही खुला घरलाई धन्सार भन्छन् उनी।

‘खरको घरमा सबै अट्दा पनि अटाइन्न, यही खुला धन्सारमा सुतेरै रात कटाइरहेका छौं,’ उनी भन्छन्, ‘खान, लाउनको साह्रै दुःख छ। केले घर बार्नु र खोई।’

५५ वर्षीय दशरथका अहिले नौ सन्तान छन्। जेठी श्रीमती तर्फका ६ वर्षीय निषेध चेपाङ लक्ष्मी प्रतिष्ठानले सञ्चालन गर्ने कुमार बलराम स्मृति छात्राबासमा बसेर विन्देश्वरी आधारभूत विद्यालयमा कक्षा १ मा पढ्छन्।

उनीभन्दा अघिका दुई दिदीले पढ्न छोडेर बिहे गरिसके। दुई दाइहरूले पनि पढ्न छाडे।

‘सबै छोरा–छोरीलाई पढाउने मन छ तर मैले मात्रै चाहेर सक्दिनँ,’ उनले भने, ‘पढाउने सहयोगीहरू हुने रहेछन्, भेट्नुभयो भने भनिदिनुहोला।’

दशरथको घर वरपर लालपुर्जाबिनाको केही खेत छ। त्यही खेतमा मकै, कोदोलगातयतका अन्न उब्जाएर जिविका चलाउँछ यो परिवार। गत वर्ष फौजी कीराको प्रकोपका कारण चितवनका पहाडी क्षेत्रमा मकै कम फल्यो।

त्यसको चोट दशरथको परिवारलाई पनि परेको छ।

‘४०/५० डोको भित्र्याउनुपर्ने मकै १५ डोकोमात्रै भित्रियो, कोदो पनि कम फल्यो। भकारी रित्तै छ,’ उनले भने, ‘खानै समस्या छ। लगाउने, ओड्ने, ओछ्याउने त कसरी व्यवस्था गर्नु।’

विन्देश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया विद्यालय र छात्राबासका कारण धेरै चेपाङ बालबालिकाले अध्ययनको अवसर पाएपनि अभिभावकमा अपेक्षित रूपमा चेतनाको विकास हुन नसकेको बताउँछन्।

‘सन्तान उत्पादनलाई उनीहरू सामान्य विषय ठान्छन् तर उनीहरूको लालनपालन, खानपिनमा मतलब गर्दैनन्,’ उनले भने, ‘आफूले जन्माएका सन्तानप्रतिको कर्तव्यवोध अभिभावकमा नहुँदासम्म यस्तो अवस्था देखिराख्नुपर्छ।’

उनले विद्यालय आउने बालबालिकामार्फत् अभिभावकमा सचेतना जगाउने प्रयास गर्दै आएको बताए।

‘प्रत्यक्ष रूपमै भेटेर हुन्छ कि छोराछोरीमार्फत् हुन्छ बाबुआमालाई मेहनत गर्न, फजुल खर्च नगर्न, जिम्मेवार बन्न सिकाउने गरिएको छ,’ थपलिया भन्छन्, ‘तर पुर्खाबाट सिक्दै आएको कुरामा परिवर्तन ल्याउन सजिलो रहेनछ।’

उनले आर्थिक अवस्था कमजोर भएका सयौं परिवारका बालबालिकालाई छात्राबासमा राखेर नि:शुल्क अध्ययनको व्यवस्था मिलाइएको भए पनि अभिभावकमा चेतनाको कमी र छात्राबासको स्रोतको सीमितता लगायतका कारण अझै धेरै बालबालिका पढाइबाट बञ्चित हुँदै आएको बताए।

दशरथ चेपाङको घरमा करिब एक घण्टा भुलेपछि हामी करिब तीन घण्टाको पैदलयात्रा गर्दै राप्ती-१३ को वडा कार्यालय रहेको स्थान कालीटार आइपुग्यौं।

११ बजेसम्म पनि त्यहाँ वडा कार्यालय बन्द थियो। त्यहाँबाट ३ घण्टा भन्दा बढी समय गाडी चढेर पूर्व-पश्चिम राजमार्गको भण्डारा आइपुग्यौं।

यही रहेको राप्ती नगरपालिकाको कार्यालयको कार्यक्षेत्र हो दशरथको गाउँ कान्दा।

आफ्नो कार्यकालमा यहाँकी मेयरले एक पटक मात्र कान्दा गाउँमा पाइला टेकेकी छन्। वडाध्यक्ष सूर्यबहादुर चेपाङ पनि बिरलै देखिन्छन् यहाँ।

अब त निर्वाचित जनप्रतिनिधिरूको कार्यकाल सकिन केही महिना मात्रै बाँकी छ। नयाँ चुनावका लागि प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् अचेल उनीहरू।

दशरथको परिवार र यस्तै कैयन परिवारको अवस्था हेर्ने र उनीहरुको दर्दनाक कथा सुन्ने फूर्सत उनीहरूले कहिले पाउलान्?

१३ पुष २०७८ मा प्रकाशित
Nabintech