झण्डै १२ लाख रुपैयाँमा सुन भनेर बेच्न खोज्ने दुई युवक बाँकेमा पक्राउ परेका छन्।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. ६ का २२ वर्षीय राजु कार्की र सोही गाउँपालिका वडा नं. ८ का २९ वर्षीय पूर्णबहादुर विक पक्राउ परेका छन्।
विस्कुटजस्तै आकारमा झन्डै ६ सय ग्राम बढी तौल भएको सुनजस्तो देखिने पहेंलो धातु, नगद दुई लाख ७७ हजार र चार लाखको चेकसहित उनीहरूलाई बाँके प्रहरीले पक्राउ गरेको थियो।
सुनको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले बुधबार बेलुका आठ बजेतिर बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० राँझा चोकबाट पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले उक्त वस्तु नक्कली सुन रहेको पुष्टि भएको जानकारी दिए।
‘प्रहरीले बिहानै बरामद वस्तु प्रयोगशालामा परीक्षण गराउन दिएको थियो र बिहीबार दिउँसोमात्रै त्यो धातु नक्कली सुन भएको भन्ने कुरा आयो,’ घर्तीले भने, ‘उनीहरूले उक्त धातु एक जनासँग १२ लाख रुपैयाँमा बेच्नका लागि मोलतोल गरिरहँदा पक्राउ परेका थिए।’
बरामद पहेंलो धातुमा सुनको एक अंश पनि छैन भन्ने कुरा परीक्षणबाट पुष्टि भएको हुँदा पक्राउ परेका दुई जनाविरूद्ध ठगी मुद्दा चलाउने तयारी भइरहेको प्रहरी निरीक्षक घर्तीले जानकारी दिए।