घोराही उपमहानगरको ‘ईन्धन घोटाला’ बचाउ — ‘दुरुपयोग भएको देखिएन’

पिपलबाेट संवाददाता


घोराही उपमहानगरपालिकाका गाडीहरुमा अस्वाभाविक ईन्धन खपत भएको आशंका उठेपछि १४ नम्बरका वडा अध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति बन्यो । यो समितिले आफ्नो छानविनका आधारमा उपमहानगरपालिकाका बिग्रेका गाडीहरुमा समेत ईन्धन भरेको भनेर ईन्धनको दुरुपयोग भएको निष्कर्ष निकाल्यो । यसैगरि पेट्रोल पम्पहरुलाई ईन्धनको कुपन बुझाएर अढाई लाख रुपैयाँ नगद बुझेको प्रतिवेदन पनि यो समितिले बुझायो । यो समितिको निष्कर्ष थियो २०७७ को ‘असार देखि भदौ सम्म ईन्धन प्रयोगमा चरम चुहावट भएको छ ।’
उपमहानगरपालिकाले यो प्रतिवेदन उपर सत्य तथ्य बुझ्नका लागि आन्तरिक व्यवस्थापन तथा खरिद शाखाका प्रमुख उमेश शर्मा र नारायण पौडेललाई जिम्मा दियो । शर्मा र पौडेलले पहिला बनेको छानविन समितिको प्रतिवेदनलाई अध्ययन गर्यो र ईन्धनका लागि प्रयोग भएका कुपनहरु अध्ययन गरे । अनि कुल खपतको परिणाम सहित उपमहानगरलाई बुझाए ।
तर उपमहानगरको कार्यपालिका बैठकले भने यहि प्रतिवेदनका आधारमा ईन्धन चुहावट नभएको निष्कर्ष निकालिदियो । उपमहानगरको कार्यपालिका बैठकको निर्णयमै ‘आन्तरिक व्यवस्थापन शाखाका प्रमुख उमेश शर्मा र नारायण पौडेललाई विवरण पेश गर्न आदेश दिएकोमा उहाँहरुले सो अवधीमा ईन्धन भुक्तानीका लागि काटिएका अर्धकट्टि र लगबुक समेतको गरी २०७७ फागुन २ गते पेश गर्नुभएको प्रतिवेदनमा दुरुपयोग भएको नदेखिएको’ उल्लेख गरिएको छ ।
तर आन्तरिक व्यवस्थापन शाखाका प्रमुख उमेश शर्माले भने आफूहरुले दुरुपयोग भए नभएको बारे केही नखुलाएको र खर्च भएको विवरण मात्रै उल्लेख गरेर प्रतिवेदन बुझाएको बताए । ‘उपमहानगरको कार्यपालिका बैठकले कसरी दुरुपयोग नभएको भनेर लेख्यो ? त्यो कार्यपालिका बैठकको कुरा हामीलाई थाहा हुने कुरा भएन,’ शर्माले भने ‘हामीहरुले त ईन्धनको कुपनका आधारमा खर्च भएको ईन्धनको परिणाम के कति भयो भनेर मात्रै प्रतिवेदन बुझाएका हौँ, हामीले दुरुपयोग भए नभएको बारे केहि खुलाएका हैनौँ ।’

yyy.jpg

उपमहानगरपालिकाले ईन्धन खपतमा घोटाला नभएको दाबी गरेको भएपनि ईन्धनको कुपन पेट्रोल पम्पमा बुझाएर रकम बुझेका एक कर्मचारीले उक्त रकम फिर्ता गरेको दाबी सुरुमा गरिएको छानविन समितिको छ ।
‘उपमहानगरपालिकाले ईन्धनमा कुनै दुरुपयोग भएको छैन भनेर दाबी गर्छ भने कुपन दिएरै पेट्रोल पम्पबाट अढाई लाख रुपैयाँ बुझेका एक कर्मचारीले किन त्यो रकम फिर्ता गरेत ?’ छानविन समितिका एक सदस्यले भने ‘ति कर्मचारीले आफूले रकम लिएको तर कार्यालय प्रयोजनका लागि लिएको भनेर समेत हाम्रो छानविनका क्रममा स्वीकारेका छन् ।’

आन्तरिक व्यवस्थापन शाखाका अनुसार ईन्धनमा घोटाला भएको उजुरी परेपछि यो बिषयलाई अहिले अख्तियारले हेरिरहेको छ । अख्तियारले अनुसन्धान गरिरहेको यो मुद्धालाई भने घोराही उपमहानगरले घोटाला नभएको भनेर फैसला नै गरिदिइसकेको छ ।
‘अख्तियारबाट प्रमाण माग भएपछि हामीहरुले सबै विवरण अख्तियारलाई बुझाएका छौँ,’ उनले भने ‘संवैधानिक निकायले हेरिरहेको मुद्धामा हामीले घोटाला भएको वा नभएको भनेर निर्णय गर्न मिल्दैन, कार्यपालिकाले गरेको बिषयमा हामीहरुलाई थाहा छैन ।’

यसैगरि यहि अवधिमा सरसफाईका लागि प्रयोग भएका गाडीहरुमा भने आवश्यक्ता भन्दा बढि ईन्धन खपत भएको देखिएको उपमहानगरको कार्यपालिका बैठकले उल्लेख गरेको छ । तर उनिहरुलाई पनि उपमहानगरले कारवाही गरेन । ‘आयन्दा गल्ती नगर्न’ भन्दै उपमहानगरले यो बिषयलाई पनि थामथुम पारिदिएको छ । छानविन समितिले यथ्येष्ट प्रमाण सहित ‘ईन्धन घोटाला प्रतिवेदन’ बुझाउँदा समेत समितिको प्रतिवेदनलाई लत्याएर उपमहानगरले आफू खुशी घोटाला नभएको निश्कर्ष निकालको छानविन समितिको दाबी छ ।

‘हामीहरुले गरेको छानविनका क्रममा यथ्येष्ट प्रमाण पेश गरेका छौँ, जवकी घोटाला नभएको भनेर भन्न सकिने कुनै ठाउँ दिएका छैनौँ,’ छानविन समितिका ति सदस्यले भने ‘तर उपमहानगरले ईन्धनमा भएको चरम दुरुपयोग भएको तथ्यलाई ढाकछोप गरिदियो, यो ठूलो बिडम्बना हो ।’ उपमहानगरले समितिको प्रतिवेदनका बिषयमा छानविन समितिसंग छलफल नै नगरि ईन्धन दुरुपयोग भएको घटनामा एकोहोरो फैसला गरिदिएको दाबी समितिको छ ।

‘म छानविन समितिको संयोजक थिएँ, तर म संग यो बिषयमा उपमहानगरले एक पटक पनि छलफल गरेन,’ छानविन समितिका संयोजक शक्तिराम डाँगीले भने ‘उपमहानगरले एकलौटी दुरुपयोग नभएको फैसला गरिदियो र दुरुपयोगमा संलग्नहरुलाई निर्दोष करार गरिदियो  ।’ डाँगीका अनुसार उनी त्यो बेला कोरोना संक्रमण भएर घरमै थिए । त्यही बेलाको कार्यपालिका बैठकले ईन्धनमा दुरुपयोग नभएको भनेर निर्णय गरेको थियो । ‘म त्यो बेला कोभिड भएर घरमै सुतेको थिएँ,’ वडा अध्यक्ष डाँगीले भने ‘त्यहि बेला उहाँहरुले यो निर्णय गर्नुभएछ ।’

 

१५ पुष २०७८ मा प्रकाशित
Nabintech