माइती नेपाल, नेपालगञ्जमा पछिल्लो एक वर्ष (सन् २०२१)मा ५ सय २५ जनाको खोजतलासको निवेदन परेको छ।
माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार यो वर्ष ५ सय २५ जनाको खोजतलासको निवेदन परेकोमा २ सय ३ जना फेला परेका छन्।
माइती नेपालले नेपालगञ्ज नाकामा बसेर जोखिमपूर्ण यात्रामा जान लागेका महिला तथा बालबालिकालाई रोक्ने काम गर्दछ। नेपालगञ्ज नाकाबाट यो वर्ष ४ सय ३४ जनालाई घर फिर्ता गरिएको छ। ४ सय ३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको कोइरालाले जानकारी दिए।
विगतको तुलनामा यो वर्ष खोजतलासका लागि धेरै निवेदन आएको माइती नेपालले जनाएको छ। माइती नेपालमा महिला तथा बालबालिका सम्पर्कविहीन भएको भन्दै खोजतलासको निवेदन पर्ने गरेकोमा यो वर्ष तीन जना पुरुष भारतमा बन्धक भएकाले उद्धारका लागि निवेदन परेको छ। गर्भाशय बेचबिखनको घटना पनि बाहिर आएको छ।
यस विषयमा बुझ्ने काम भइरहेको कोइरालाले बताए। खोजतलासको निवेदनमा धेरैजसो सामाजिक सञ्जालको प्रयोगबाट जोडिएका छन्। कोइरालाले राज्यस्तरबाट उद्धारको संयन्त्र नहुँदा भारतबाट समेत उद्धार गर्न गाह्रो हुने गरेको बताए।