चुनावी प्रचारका लागि गौडेल समूह नरैनापुरमा

पिपलबाेट संवाददाता


नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण प्रसाद गौडेल समूहले क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्ने क्रम जारी राखेको छ । यसै क्रममा गौडेल समूह  मंगलबार नरैनापुर पुगेको थियो ।

नरैनापुर गाउँपालिकाको वडा नम्बर ३ कालाफाँटामा आयोजित एक कार्यक्रममा गौडेल समूहले आफ्नो समूहलाई जिताउन क्षेत्रीय प्रतिनिधिहरुसंग आग्रह गरेको छ । कार्यक्रममा कांग्रेस नरैनापुर गाउँपालिका कमिटीले उम्मेदवार र नेताहरुलाई फूलमाला र खादा लगाएर स्वागत गर्दै जीतका लागि शुभकामना व्यक्त गरेको थियो । गाउँपालिका सभापति मेराज खाँ र नेता रामचन्द्र मौर्यले स्वागत गरेका थिए ।

खाँको सभापतित्व तथा क्षेत्र नम्बर १ का सभापति पोषण केसीको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश कमिटी सदस्यद्वय टेक नारायण भुषाल र इशाक जोलाहको विशिष्ट आथिथ्यतामा भएको कार्यक्रममा सभापतिका उम्मेदवार गौडेलले बघौडाका नामले चिनिने नरैनापुरलाई पार्टीको मूल प्रवाहमा जोड्न स्थानीय नेताहरुलाई आफूहरुले अगाडि बढाइरहेको बताए । नरैनापुरलाई आफ्नो समूहले विशेष प्राथमिकता दिएको उनले बताए । लुम्बिनी प्रदेश कमिटीमा इशाक जोलाहलाई जिताउन आफूहरुले भूमिका खेलेको चर्चा गर्दै उनले आफ्नो समूहले राज कुमार मौर्यलाई उपसभापतिको उम्मेदवार बनाएको बताए ।

द्वन्दकालमा क्षेत्रीय सभापति भएर क्षेत्र नम्बर १ का नेता कार्यकर्ताहरुको संरक्षणका लागि डर त्रास र धम्कीको प्रवाह नगरी अहोरात्र लागेको स्मरण गर्दै उनले आफूहरुलाई जिताए सुदृढ र सशक्त कांग्रेस बनाउने दृढता व्यक्त गरे । गौडेलले भने– हामीलाई जिताउनुस्, तपाईंको मतको सम्मान गर्दै पछुतो हुन दिने छैनौं, किन जिताएछौं भन्ने महसुस कुनै क्षण पनि हुन दिने छैनौं, उनले भने, हाम्रो धोको सशक्त बाँके कांग्रेस बनाउनेछ ।

उपसभापति पदका उम्मेदवार गोपाल प्रसाद अधिकारी र राज कुमार मौर्य, सचिव पदका उम्मेदवार सुधांशु कोइराला र टंक प्रसाद काफ्ले ९आशिष० तथा सहसचिव पदका उम्मेदवार रेणु सिंह ठाकुर र विश्वराज लम्सालले आफूहरुलाई अमूल्य मत दिएर विजयी बनाउन आग्रह गरे । त्यस क्रममा क्षेत्रीय सभापति केसीले बाँके कांग्रेसमा गौडल सभापति पदमा विजयी भएमा क्षेत्र नम्बर १ बाट पहिलो सभापति हुने भएको भन्दै यो अवसरलाई खेर जान दिन नहुने बताए ।
उनले भने(जसरी मलाई क्षेत्रीय सभापतिमा जिताउनुभयो त्यसरी सबै मिलेर जिल्ला सभापतिमा गौडेलसहित पूरै प्यानललाई विजयी बनाउन हामी सबै लागौं ।

विशिष्ट अतिथि लुम्बिनी प्रदेश कमिटी सदस्य भुषालले बाँके कांग्रेसलाई बलियो बनाउन सभापतिमा गौडेलसहित सबैलाई विजयी बनाउनुपर्ने बताए । नेता हुर्मत न्यौपानेले कांग्रेस बाँकेलाई सशक्त, चलायमान र जिम्मेवार बनाउन गौडेल समूहले जित्नुको विकल्प नभएको बताए । कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु चिन्तामणि धिताल, पूर्णप्रसाद आचार्य, कोहलपुर नगर सभापति विरेन्द्र शाह लगायतले गौडेल समूहलाई जिताउन आग्रह गरे । कार्यक्रमको सञ्चालन निवर्तमान क्षेत्रीय सचिव डिल्ली गिरीले गरेका थिए । त्यसक्रममा प्रदेश र क्षेत्रीय समितिमा विजयी भएकालाई सम्मान पनि गरिएको थियो ।

यस्तै गौडेल समूहले राप्तीसोनारीको वडा नम्बर ६ र ७ का क्षेत्रीय प्रतिनिधिहरुलाई पनि भेटेर आफूहरुलाई विजयी बनाउन आग्रह गरेको छ ।

२० पुष २०७८ मा प्रकाशित
Nabintech