पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती सोनारीको जंगलमा जवरजस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बेलुका ७ बजेको समयमा राजमार्गमा गुड्ने सवारी साधनलाई रोकेर जवरजस्ती पैसा माग्ने दाङ घर बताउने दूर्गा टमटा, सन्तोष पहाडी लगायतका ६ जना युवाको समुहलाई प्रहरीले पक्राउ गरेको अगैया प्रहरी चौकीका ईन्चार्ज खकेन्द्र केसीले जानकारी दिए ।
उनीहरु अगैया भन्दा पुर्बतिर सिक्टा, गाभर जंगलमा गाडी रोकेर जवरजस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिएको बारे एउटा कार र ट्रकवालाले जानकारी दिएपछि प्रहरीले पक्राउ गरेको ईन्चार्ज केसीले बताए । लुटपाट गर्ने समुह बा. १४ च. ३३०३ नम्बरको कारमा सवार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ गरेको सबैलाई थप कारवाहीको लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाईएको प्रहरी ईन्चार्ज केसीले जानकारी दिए । ईन्चार्ज केसीका अनुसार लुटपाटमा संलग्न सबै युवाहरु २४/२५ बर्ष उमेर समुहका रहेका छन् ।