फेसबुकले देखाउने छैन अब बच्चालाई बन्दुक

सोसल नेटवर्किङ साइट फेसबुकले आगामी जुन २१ देखि आफ्नो नीतिमा महत्वपूर्ण परिवर्तन गर्दैछ । अब फेसबुकमा बालबालिकाहरुले बन्दुक तथा त्यससँग सम्बन्धित वस्तुहरुका विज्ञापन देख्नु पर्नेछैन ।अहिले फेसबुक प्रयोग गर्ने हरेक उमेरका व्यक्तिहरुले बन्दुकको स्कोप, होल्स्टर, बन्दुकमा प्रयोग हुने लाइट, स्लिंग्स, साइट्स, बेल्ट तथा सुरक्षा लगायतका विषयका विज्ञापन देख्न सक्दछन् । तर अब फेसबुकमा रहेका यस्ता विज्ञापन बालबालिकाहरुलाई देखाइने छैन । आफ्नो नीतिको नियमित समीक्षा पश्चात् यस्तो निर्णय गरिएको फेसबुकले जनाएको छ । उता प्रविधि सम्बन्धी वेबसाइट द भर्जले अमेरिकाका स्कुलहरुमा गोलाबारीका कैयन् घटनाहरु तथा अमेरिकामा भएका गोलीकाण्डका अन्य घटनाहरुलाई मध्यनजर गरी फेसबुकले यस्तो निर्णय लिएको दाबी गरेको छ । यद्यपि फेसबुकले भने आफ्नो नेटवर्कमा यसअघि नै हतियार, गोलाबारुद, विस्फोटक तथा यस्ता पत्रिकाहरुको बिक्रिमा यसअघि देखि नै रोक लगाइएको बताएको छ ।

पछिल्ला दिनहरुमा प्रयोगकताका डाटा चोरी भएको काण्डपछि फेसबुकले डाटा गोपनियताका लागि विभिन्न कदमहरु चाल्दै आएको छ । आगामी जुलाई २ देखि अब यदि कुनै विज्ञापनदाताले डाटा ब्रोकरको प्रयोग गरेको खण्डमा त्यसको जानकारी प्रयोगकर्तालाई दिइनेछ । डाटा ब्रोकर भनेका त्यस्ता कम्पनी हुन् जसले उपभोक्ताका डाटालाई एकत्रित गरी बिक्री गर्दछन् । यसबाट विज्ञापनदातालाई आफ्नो विज्ञापन लक्षित उपभोक्तासम्म पुराउन सहज हुन्छ ।

– बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *