फेसबुकले देखाउने छैन अब बच्चालाई बन्दुक

सोसल नेटवर्किङ साइट फेसबुकले आगामी जुन २१ देखि आफ्नो नीतिमा महत्वपूर्ण परिवर्तन गर्दैछ । अब फेसबुकमा बालबालिकाहरुले बन्दुक तथा त्यससँग सम्बन्धित वस्तुहरुका विज्ञापन देख्नु पर्नेछैन ।अहिले फेसबुक प्रयोग गर्ने हरेक उमेरका व्यक्तिहरुले बन्दुकको स्कोप, होल्स्टर, बन्दुकमा प्रयोग हुने लाइट, स्लिंग्स, साइट्स, बेल्ट तथा सुरक्षा लगायतका विषयका विज्ञापन देख्न सक्दछन् । तर अब फेसबुकमा रहेका यस्ता विज्ञापन बालबालिकाहरुलाई देखाइने छैन । आफ्नो नीतिको नियमित समीक्षा पश्चात् यस्तो निर्णय गरिएको फेसबुकले जनाएको छ । उता प्रविधि सम्बन्धी वेबसाइट द भर्जले अमेरिकाका स्कुलहरुमा गोलाबारीका कैयन् घटनाहरु तथा अमेरिकामा भएका गोलीकाण्डका अन्य घटनाहरुलाई मध्यनजर गरी फेसबुकले यस्तो निर्णय लिएको दाबी गरेको छ । यद्यपि फेसबुकले भने आफ्नो नेटवर्कमा यसअघि नै हतियार, गोलाबारुद, विस्फोटक तथा यस्ता पत्रिकाहरुको बिक्रिमा यसअघि देखि नै रोक लगाइएको बताएको छ ।

पछिल्ला दिनहरुमा प्रयोगकताका डाटा चोरी भएको काण्डपछि फेसबुकले डाटा गोपनियताका लागि विभिन्न कदमहरु चाल्दै आएको छ । आगामी जुलाई २ देखि अब यदि कुनै विज्ञापनदाताले डाटा ब्रोकरको प्रयोग गरेको खण्डमा त्यसको जानकारी प्रयोगकर्तालाई दिइनेछ । डाटा ब्रोकर भनेका त्यस्ता कम्पनी हुन् जसले उपभोक्ताका डाटालाई एकत्रित गरी बिक्री गर्दछन् । यसबाट विज्ञापनदातालाई आफ्नो विज्ञापन लक्षित उपभोक्तासम्म पुराउन सहज हुन्छ ।

– बीबीसी

कसरी बन्छ मस्तिष्क ? यसको विकासवादी रहस्यबारे पत्ता लागे यी तथ्यहरु

किंग्स कलेज लण्डनका अनुसन्धाताहरुले मस्तिष्कको विनिर्माण प्रक्रियाबारे आधारभूत तथ्यहरु पत्ता लगाएका छन् । जसले ब्रेन अर्थात् मस्तिष्कको विकास प्रक्रियाको अवस्था जस्तै अटिज्म अर्थात् स्वध्यानकेन्द्रित मानसिक अवस्था र एपिलेप्सी अर्थात् मूच्र्छित क्रियाबारे बुझ्ने आधारहरु खडा भएको मानिएको छ ।

उक्त अध्ययन वेलकम ट्रष्टको सहयोगमा नेचर भन्ने पत्रिकामा प्रकाशित भएको छ । यो अध्ययनले विभिन्न खाले जीवहरु र तिनको भिन्नाभिन्नै मस्तिष्कको आकारमा मस्तिष्कका फरक फरक कोषहरुले कसरी सन्तुलन मिलाउँछन् भन्ने विकासवादी रहस्यहरुको उत्तर दिन्छ ।

द सेरेब्रल कोर्टेक्स अर्थात् मस्तिष्कसम्बन्धी छाला मानवीय मस्तिष्कको सबैभन्दा ठूलो क्षेत्र हो भने यो नै हाम्रो सिकाइ, स्मरणशक्ति र भावी दिनमा काम गर्ने उच्चस्तरीय क्षमताको योजना निर्माणमा जिम्मेवार हुन्छ । सेरेब्रल कोर्टेक्सले मुख्यतया दुई किसिमका मस्तिष्कका कोषहरुलाई समावेश गर्दछ । ती भनेका १) एक्साइटेटरी र २) इन्हिबिटरी न्युरोन हुन्, जसलाई सामान्यतया ‘गो’ र ‘नो गो’ न्युरोनका रुपमा परिभाषित गर्न सकिन्छ ।

एक्साइटेटरी ‘गो’ न्युरोन्सले सूचना प्रक्रियाको काम गर्नुका साथै अन्य न्युरोन्सलाई के गर्ने भन्ने आदेश गर्छ भने इन्हिबिटरी ‘नो गो’ न्युरोन्सले एक्साइटेटरी न्युरोन्सको गतिविधिमा कडाइ गर्छ । जसका कारण तिनीहरु एकैसाथ अघि बढ्न सक्दैनन् । एकदमै धेरै ‘गो’ले न्युरोनहरुको ‘ओभर–फाइरिङ’ गराउँछ, जुन एपिलेप्सीमा देखिएको छ । जबकि धेरै ‘नो गो’ले भने संज्ञानात्मक समस्याहरुको सृजना गर्छ ।

अनुसन्धाताहरुले ‘गो’ र ‘नो गो’ न्युरोनहरुमा कसरी सन्तुलन कायम रहेको हुन्छ भन्ने तथ्य पत्ता लगाएका छन् । यो उनीहरुले हुर्किँदै गरेको मुसाको मस्तिष्कको विकास प्रक्रियाको अध्ययनका क्रममा पत्ता लगाएका हुन् । नयाँ तथ्यअनुसार सबै स्तनपायी जीवहरुको मस्तिष्कमा उक्त दुवै प्रकारका कोषीय संरचना पाइएकाले मानवमस्तिष्कबारे पनि यही तथ्य लागू हुनसक्ने बताइएको छ । इन्स्टिच्युट अफ साइकियाट्री, साइकोलजी एण्ड न्युरोसाइन्सस्थित सेन्टर फर डेभलोपमेन्टल न्युरोबायोलजीका वरिष्ठा प्राध्यापक ओस्कार मारिनका अनुसार प्रकृतिका धेरै आधारभूत कुराहरुबारे आफूहरुले पत्ता लगाएका तथ्यहरु सुन्दर र एकदमै महत्वपूर्ण रहेका छन् ।

यो अध्ययनले मस्तिष्क कसरी बन्यो भन्ने कुराहरुबीचको दूरी पनि छोट्याउने उनको दाबी छ । साथै यसले उक्त दुई कोषीय सन्तुलनबारे समेत व्याख्या गरेको उनको भनाइ छ । त्यसको साथै यी जीवहरुको विकास प्रक्रियासँगै तिनीहरुको मस्तिष्कको परिवर्तित अवस्थाबारे पनि बुझाउने कोशिस गरेको छ । तर सोही प्रक्रियालाई मानवीय मस्तिष्कको विस्तारमा समायोजन गर्न भने यो निकै गम्भीर हुने सम्भावना पनि छ ।

मुख्य गरी भ्रूणीय विकासको अवस्थामा मस्तिष्कका कोषहरुलाई मुसामा समाहित गर्ने क्रममा अनुसन्धाताहरुले एकपटक ‘गो’ न्युरोन राखेपछि धेरै ‘नो गो’ न्युरोनहरु राखेर हेरेका थिए । उक्त इन्स्टिच्युटकै सहलेखक डा. किंगा बर्सेनीले भने, ‘यदि हामी वार्तालापको क्रममा मस्तिष्कको कल्पना गर्छौँ भने कुरा गर्दा न्युरोनहरु एकआपसमा अन्तर्सम्बन्धित हुनैपर्छ । जन्मिएको पहिलो दुई हप्तामा ‘नो गो’ न्युरोनहरुले यदि एक्लो छन् भने थाहा पाउने र तिनीहरुले ‘गो’ न्युरोनहरुसँग सम्बन्धित हुन नसके मर्नेसम्मको अवस्था हुन्छ ।’

अनुसन्धाताहरुले अध्ययनका क्रममा ‘गो’ न्युरोनहरुले ‘नो गो’ न्युरोनहरुलाई मृत्यु हुनबाट बचाउन पीटीईएन नामक प्रोटिनको कार्यलाई रोकेर सहयोग गर्ने गरेका समेत पत्ता लगाएका छन् । उक्त प्रोटीनका लागि जिन कोडिङमा म्युटेसनहरु अटिज्मसँग बलियो गरी अन्तर्सम्बन्धित रहेका हुन्छन् । यसको मतलब जब पीटीईएनले राम्ररी र पर्याप्त काम गर्न सक्दैन, ‘नो गो’ न्युरोनहरु मर्छन् । यसो हुँदा केही आफ्नै संसारमा रमाउने प्रकृतिका मानिसहरुको सूचना प्रक्रियामा समस्या सृजना हुने गर्छ ।

त्यस्तै सोही इन्स्टिच्युटका अर्का लेखक डा. फोंग कुआन वोंगका अनुसार शारीरिक प्रक्रिया पनि मस्तिष्क निर्माण र विकासमा आधारभूत रुपमा आउने गर्छ । उनले भने, ‘हामीले पत्ता लगाएका तथ्यहरुले के सुझाव दिन्छ भने यो प्रक्रियाको अवरोधहरुले न्युरोडेभलपमेन्टल डिसअर्डरमा आधारभूत भूमिका खेलेको हुन्छ । साथै कसरी सेरेब्रल कोर्टेक्समा कोषीय प्रकारहरुको सन्तुलनमा अवरोध हुन्छ भन्ने थाहा भएको अवस्था जस्तै अटिज्म र एपिलेप्सी,ले भने नयाँ खाले उपचारतिर डो¥याउन पनि सक्छ ।’

अब अनुसन्धाताहरु मुसामा धेरैभन्दा धेरै ‘नो गो’ न्युरोनहरु हुँदाको परिणामको अनुसन्धानमा केन्द्रित भएका छन् । सँगसँगै उनीहरु यसले कसरी मानिसहरुको अटिज्मजस्तै अवस्थासँग सम्बन्धित हुनसक्छ भन्नेतिर पनि केन्द्रित भएका छन् ।

साइन्स डेली डटकमबाट अनुदित ।

एनसेलले ल्यायो भ्यालेन्टाइन अफर

एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मजा लिन सक्नेछन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लि.ले आफ्ना ग्राहकका लागि असिमित भ्वाइस प्याक र डेटा प्याक सहितको भ्यालेन्टाइन अफर ल्याएको छ, जसले ग्राहकलाई आफ्ना प्रियजनसँग निरन्तर कुराकानी तथा भिडियो च्याट गर्दै अझै नजिक हुन सहज बनाउने छ । असिमित भ्वाइस तथा डेटा प्याकको यो आकर्षक अफर यही बिहिबार (माघ २५) देखि १५ दिनको लागि लागु हुने एनसेलले जनाएकाे छ ।

अफर अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले कर सहित मात्र रु १५ मा असिमित भ्वाइस प्याक लिई विहान ५ बजे देखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्र कुनै पनि नम्बरमा असिमित कुराकानिको मजा लिन सक्नेछन् । ग्राहकले १७११४ डायल गरि प्राप्त जानकारी अनुसार भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी एसएमएस मार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाइ पनि यो प्याक सुचारु गर्न सकिन्छ । यो भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार योजना अवधिभर हरेक दिन यो प्याक सुचारु गर्न सक्छन् । प्याकको समयावधि सकिएपछि विद्यमान शुल्क लागु हुनेछ ।

साथै, आफ्ना प्रियजनसँग भिडियो च्याट गर्न रुचाउने ग्राहकले यस अफर अन्तर्गत कर सहित मात्र रु २० मा एक घण्टाको लागि निरन्तर डेटा उपलब्ध गराउने असिमित डेटा प्याक लिई आफ्ना प्रियजनसँग निरन्तर भिडियो च्याटको मजा लिन सक्नेछन् ।

यो डेटा अफरको लाभ लिन ग्राहकले एस्टिक्स १७११४ ह्यास् डायल गरी विकल्प नम्बर २ छनौट गरी प्याक सुचारु गर्न सक्छन् । ग्राहकले अंग्रेजीमा ‘यु’ टाइप गरी १७११४ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्छन् ।

निरन्तर ईन्टरनेट सुनिश्चित गर्ने यो डेटा प्याक सुचारु भएको समयबाट १ घण्टाको लागि मान्य रहनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याक योजना अवधिभर जति पटक पनि लिन सक्छन् । यस भ्यालेनटाइन सिजनमा ल्याइएका यी आकर्षक भ्वाइस र डेटा अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।

के हो एन्ड्रोइड रुट, कसरी गर्ने ?

तपार्इंहरु मध्ये धेरैले त सुन्नु भएकै होला ‘एन्ड्रोइड रुट’को बारेमा। एन्ड्रोइड फोन रुट गर्न पाए धेरै फाइदा होला भन्ने सोच्नु भएको होला। यो लेखमा एन्ड्रोइड रुट भनेको के हो? कसरी गरिन्छ? यसका फाइदा र बेफाइदा के छन्? भन्ने सेरोफेरोमा रहेर जानकारी दिन खोजिएको छ।

एन्ड्रोइड रुट भनेको एन्ड्रोइड स्मार्ट फोनलाई यस्तो अवस्थामा पुर्‍याउनु हो कि, जहाँबाट तपाईंले आफ्नो मोबाइलमा सामान्य अवस्थामा गर्न नमिल्ने कामहरु गर्न मिलोस्। प्राविधिक भाषामा भन्ने हो भने मोबाइलको ‘सुपर युजर’ (एडमिनिस्ट्रेटर) बनाउनु हो।

यसरी हामीले मोबाइल बनाउने उत्पादक कम्पनीले गर्न नदिने काम पनी गर्न सक्छौं।

कसरी गरिन्छ त रुट?
तपाईंको मोबाइलको ब्रान्ड तथा मोबाइल मोडल अनुसार विभिन्न एन्ड्रोइड एपको मद्दतले एन्ड्रोइड फोन रुट गर्न सकिन्छ। गुगल प्लेस्टोरमा रुटका एपहरु सर्च गरेर डाउनलोड गर्न सकिन्छ।

एन्ड्रोइड रुट गर्नुका फाइदा
तपाईंले एन्ड्रोइड स्मार्ट फोनको अपरेटिङ सिस्टमलाई आफूले चाहे बमोजिम ढाल्ल सक्नु हुन्छ। आवश्यकता अनुसार आफ्नो फोनमा रहेको प्रोसेसरको गति (क्लक स्पिड) बढाउन तथा घटाउन सकिन्छ। (प्रोसेसरको गति घटाएमा तपाईंको मोबाइलको ब्याट्री अवधि बढाउन सकिन्छ र बढाएमा मोबाइलको गति बढाउन सकिन्छ।

तपाईंले सामान्यतया मोबाइलबाट हटाउन नमिल्ने एप्सहरु आवश्यक नलागेमा हटाउन सकिन्छ।  तपाई‌ले एन्ड्रोइड फोनको सफ्टवेयर (रोम) लाई आफ्नो अनुकूल ढाल्न सक्नु हुन्छ। अर्थात् एन्ड्रोइड फोन बनाउँदा एन्ड्रोइडको सफ्टवेयरमा लेखिएको कोडलाई परिवर्तन गरेर मोबाइलाई आफूले चाहे बमोजिम देखिने तथा काम गर्ने गराउन सक्नु हुन्छ। जस्तैः नोटिफिकेसनको कलर परिवर्तन गर्न, भाइब्रेसनको गति घटबढ गर्न, स्क्रिनको रङको मिश्रण परिवर्तन गर्न, वाइफाइको पासवर्ड थाहा पाउन, एन्ड्रोइडको भर्जन परिवर्तन गर्न साथै धेरै फिचर थप गर्न सकिन्छ।

रुट भएको एन्ड्रोइड फोनमा मात्र हाल्न सकिने प्रोग्रामहरु हुन्छन्। जस्तैः टाइटानियम ब्याकअप, वाइफाइ टेथर, एडफ्री, वाइफाइ पासवर्ड आदि।

एन्ड्रोइड रुट गर्नुका बेफाइदा
पहिलो कुरा त, यदि तपार्इं‌को मोबाइल वारेन्टी अवधिमा छ भने तपाईंले आफ्नो मोबाइल रुट गर्नु भनेको अब वारेन्टी मान्य नहुनु हो। तपाईंले राम्रो ज्ञानबिना रुट गर्नुभयो भने तपाईंले थाहै नपाई मोबाइलमा खतरनाक एपहरु इन्स्टल हुन सक्छन्। जसले गर्दा तपाईंको स्मार्ट एन्ड्रोइड फोन सजिलै ह्याक हुन सक्छ। एन्ड्रोइडले स्मार्ट फोनलाई सुरक्षित गराउन अपनाएका सबै उपाय तपाईंले फोन रुट गरेसँगै तोडिनेछन्। रुट भएको फोनमा तपाईंले पाउने सबै आधिकारिक अपडेटहरु पनि आउन बन्द हुनेछन्।

एन्ड्रोइड स्मार्ट फोन रुट गर्नु गैरकानुनी काम होइन, तर यो गर्नका लागि यसबारे धेरै ज्ञान तथा सीप चाहिन्छ। एन्ड्रोइड फोन रुट गर्ने तरिका युट्युब तथा गुगलमा पनि पाउन सकिन्छ।

मोबाइल कहिल्यै ह्यांग (hang) नहुने तरिका

तपाइले कहिल्यै याद गर्नुभएको छ? मोबाइल फोन नयाँ-नयाँमा एकदम छिटो र राम्रो संग चल्छ । तर किनेको केहि महिनामै फोन ढिलो चल्ने, ढिलो स्टार्ट हुने, फोन नै ह्यांग हुने र कहिले काहिँ फोन आफै रीस्टार्ट समे हुने गर्दछ, यसले गर्दा मोबाइल प्रयोग कर्ताहरुलाई रिस पनि उठ्छ, तर के गर्नु यति महँगो मोबाइल कसरि ठेचारेरा फाल्नु।

अनि मोबाइल पसलमा गैर देखाउनु हुन्छ, पसलेले केहि पैसा लिएर ठिक पारिदिन्छ । यदि तपाईपनि यस्तै समस्याले ग्रसित हुनुहुन्छ भने खुशी हुनुहोस ।

हामिले तपाईहरुको यस्तै समस्याहरुलाई हल गर्नको लागी टेक गुरु हरि गुरुङ लाई आग्रह गरेका थियौं । उहाले निम्न लिखित टिप्सहरु दिनुभएको छ । यदि तपाइले निम्न लिखित टिप्स हरु लाई आफ्नो मोबाइलमा अपनाउनु हुन्छ भने तपाइको मोबाइल कहिल्यै ह्यांग हुदैन र साथ् साथै तपाइको मोबाइलको पर्फर्मेन्स पनि निकै गुणा बढेर जानेछ ।

फोनको यस्तो प्रकारको समस्यालाई हटाउनको लागि सबै भन्दा पहिला फोनको सेटिंगमा जानुहोस, त्यसपछि सबै भन्दा तल रहेको About Phone लेखिएको अप्सनमा क्लिक गर्नुहोस । त्यसपछि Build number लेखिएको अप्सनमा ६ देखि ७ पटक सम्म क्लिक गर्नुहोस ।

यसरि Build number लेखिएको अप्सनलाई ६ देखि ७ पटक सम्म क्लिक गर्नुभयो भने Developer Mode अन हुन्छ ।

अब ब्याक जानुहोस र अघिको About Phone लेखिएको अप्सन भन्दा माथि Developer Mode भन्ने नयाँ अप्सन आइसकेको हुन्छ । त्यस Developer Mode अप्सनमा क्लिक गर्नुहोस ।

जब तपाइले Developer Mode मा क्लिक गर्नुहुन्छ । त्यसपछि धेरै अप्सनहरु भएको अर्को स्क्रिन देख्नुहुनेछ । अब त्यसमा Animator duration scale भन्ने अप्सन देख्नुहुन्छ । त्यस अप्सन(Animator duration scale) मा क्लिक गरि सबैभन्दा कम नम्बरमा क्लिक गर्नुहोस अथावा Animation is off. भन्ने अप्सनामा क्लिक गर्नुहोस ।

यस्तो गर्नाले तपाइको मोबाइल फोनको स्पिड बढ्नेछ । र मोबाइलको पर्फर्मेन्सम कुनै समस्या आउनेछैन र कहिल्यै ह्यांग पनि हुनेछैन । यस्तै अन्य जानकारीहरु थाह पाउनको लागी हाम्रो फेसबुक पेज लाईक गर्नुहोस र नयाँ नयाँ जानकारी हरु प्राप्त गर्नुहोस ।

Developer Mode इनेबल गर्ने तरिकाहरु मोबाइलको कम्पनि अनुसार फरक फरक हुनसक्छ, जुन तल दिइएको छ

Stock Android: Settings > About phone > Build number

Samsung Galaxy S5: Settings > About device > Build number

LG G3: Settings > About phone > Software information > Build number

HTC One (M8): Settings > About > Software information > More > Build number